PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रङ्गमञ्चमा अन्यौल युवापुस्ताको कथा : जिन्दगीलाई अर्थ दिन खोज्दाखोज्दै गर्दा तयार भएको नाटक



लक्ष्मी बलायर

रङ्गमञ्चमा अन्यौल युवापुस्ताको कथा : जिन्दगीलाई अर्थ दिन खोज्दाखोज्दै गर्दा तयार भएको नाटक
तस्विर : कौसी थिएटर

काठमाडौं : मञ्चमा देखिन्छन् एक हुल युवाहरु। उनीहरु साथीहरुसँग मनका कुरा खोल्न तयार छन्। बढ्दो उमेरसँगै थपिएको जिम्मेवारी र करियरको चिन्ता। अनि जोश र जाँगर हुँदा पनि केही गर्न नसकेको थकथकी।

उनीहरु पालैपालो भन्न थाल्छन्:

काम त गर्ने तर, जागिर छैन। सानोतिनो काममा आँखा जाँदैन। जागिर गर्दा पनि काम धेरै, पैसा कम। पढाईको सर्टिफिकेटले काम भेटिएन। जब एप्लिकेशन लेख्दा लेख्दै दिक्क लागिसक्यो बरु पुस्तक लेख्छु। व्यापार गरौं भने पनि लगानी छैन। सेयर मार्केट पनि डुबिसक्यो। यो देशमा हुने भनेको ठूलो कुरा मात्रै हो, त्यही भएर चुप लागेर विदेशतिर लाग्ने हो!

युवाको भिडमा एकजनालाई भने न पैसाको चिन्ता छ भविष्यकै। गफगाफकै क्रममा उनी भन्छन्,‘कति काम काम गरिरहेको भन्या? बाउको सम्पतिको के काम!’

दृश्य हो नाटक ‘लाइक, लेट्स अभिनय गरौं’ को। युवाहरुको मनस्थिति प्रस्तुत गर्ने नाटक अहिले टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। कथामार्फत देशको आर्थिकदेखि राजनीतिक अवस्थालाई पनि चित्रण गर्ने प्रयास गरिएको छ।

कलाकारको अभिनयबाट दर्शकले पात्रमै आफूलाई भेटाउन सक्छ। पात्रहरुले आफ्ना भोगाईहरु सुनाउँदा लाग्छ ‘मञ्चमा कलाकार होइनन्, आफू स्वयम् अभिनय गरिरहेको छु।’

चोटिला संवाद, प्रप्सको प्रयोग र शारीरिक हाउभाउको बेजोड प्रस्तुती नाटकका बलिया पक्ष हुन्। पृष्ठभूमिमा बज्ने संगीत र मिल्सन राईका कविताहरुले पनि नाटकमा मिठास थपेको छ। युवाहरुमा करियरलाई लिएर आउने दुविधा र मनोदशाको कथा नाटकमा प्रस्तुत छ।

त्यस्तै,नाटकमा अत्याधिक रमाइला संवादहरु प्रयोग गरिएको छ। कुनै दृश्यले भने दर्शकलाई भावुक बनाइदिन्छ।

रंगकर्मी सुदाम सिके नाटकमा नयाँ नयाँ शैली प्रयोग गर्न मन पराउँछन्। नाटक ‘पाँच’ मा शारीरिक भाषामार्फत कथा प्रस्तुत गरेका उनको ‘हरेक बबाल कुरा’ र ‘ऐया! माया’ पनि प्रयोगमा आधारित थियो। यो नाटकमा पनि उनले मनबाटै काम गरेका छन्, दर्शकलाई नाटक मञ्चन भइरहँसम्म बाँध्न सफल बनेका छन्।

‘लाइक, लेट्स अभिनय गरौँ’ मा सुदामले ‘अब्जर्ड’ कला प्रयोग गरेका छन्। त्यसैले यस नाटकको निश्चित स्वरुप छैन।

‘हामी जिन्दगीलाई अर्थ दिन खोजिरहेका हुन्छौं। तर, जीवनको अर्थ के हो भन्ने खोजेको खोज्यै हुन्छौं। यस नाटकको फर्ममा एउटा मात्रै पाटो देखाउँदैन। अडियन्सले आफ्नो ज्ञान र अनुभव अनुसार नाटकलाई रिलेट गर्न सक्छन्,’ उनले भने।

आफूले भोगेको अन्यौलताले नाटक बनाउने सोच आएको उनी बताउँछन्।

‘करियरको अन्यौलता मैले पनि पार गरेको छु। जुन अहिले पनि छ। किनकी आर्टिस्टको लाइफ सेटल हुँदैन। सधैँ काम हुँदैन। अहिले पनि म रंगमञ्चमा अभिनय, लेखन र निर्देशन सबै गरिरहेको हुन्छु। त्यो पनि एक किसिमको अन्यौलता हो,’ उनले भने, ‘अहिलेको समयमा पनि युवाहरुमा पनि के गर्ने भन्ने अन्यौलता छ। मुख्यतया यो नाटक १८ देखि ३० वर्षका युवापुस्तासँग रिलेट गर्छ। त्यसमाथिका दर्शकहरु चाँहि नाटक हेरेर नोस्टालजिक हुन्छन्। बेरोजगारीको कुरालाई पनि सकरात्मक तरिकाबाट देखाउन खोजेका छौँ।’

यस नाटकमा १८ देखि ३० वर्ष सम्मका २० कलाकारहरुको अभिनय रहेको छ। यो नाटक असार १७ गतेसम्म मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell