काठमाडौं : पहिरो खसेपछि बिहीवार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अहिलेसम्म संचालनमा आउन सकेको छैन।चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो।
हिजोदेखि नै सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पहिरो पन्छाउने काममा बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घन्टा लाग्ने बताए।
'दिनभर पहिरो पन्छाएर पनि सडक संचालन गर्न सक्ने अवस्था छैन', तामाङले भने।
पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। आज पनि पानी परिरहेकोले सो कार्य ठप्प छ। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ। सडकमा गाडीको लामो लाइन लागेको छ भने सयौँ यात्रु अलपत्र परेका छन्।
काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।