PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज



पहिलोपोस्ट

हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज
फोटो : रासस

फुङ्लिङ : मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ। तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिवारदेखि सञ्चालनमा आएको हो।

गत असार २ गतेको बाढी-पहिरोले मोटरेबल पुल बगाएपछि जिल्ला सडक सञ्जाल टुटेको थियो। ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएकामा हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ।

जिल्लाका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र युवाको सक्रियतामा फड्के पुल बनेको हो। मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा उक्त पुल बनाइएको थियो। बाँसका साथै बिजुलीको तार र नट प्रयोग गरेर बनाइएको पुलमा पाँचथर युवा सङ्घको पनि सहयोग रहेको जनाइएको छ।

फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ। मेचीमार्गको फिदिम-ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन्।

फड्के पुल तर्ने यात्रुलाई वारिका सवारी साधनले वारिबाटै र पारिका सवारी साधनले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन्। यहाँ सडक डिभिजन कार्यालयबाट बनिरहेको बेलीब्रिज सम्पन्न नहुँदासम्म यात्रुलाई यात्रा गर्न फड्केले सहयोग पुर्‍याएको छ।

बेली ब्रिज बन्न एक महिना लाग्ने बताइएको छ। हेवाखोलामा तत्काल डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell