PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लकडाउनले 'काजी' बनेका कुशल आए 'धादिङ उचाल्न'



लक्ष्मी बलायर

लकडाउनले 'काजी' बनेका कुशल आए 'धादिङ उचाल्न'

फेरि आए धादिङ उचाल्न

केटाहरुले राजधानी उचाल्छ

मेटाफोर डिप सबलाई सुताउँछ

जुत्ता छैन तर भाग्य उदाउँछ

धादिङ ज्यामरुङका कुशल लम्साल एसइईको रिजल्ट कुर्दै आफ्नै पारामा यसरी 'र्‍याप' बुन्न व्यस्त छन्। केही दिनअघि मात्र कुशल यही र्‍याप गाउँदै युट्युबमा सुनिए। दाजुभाइ बिटमा उनले यो र्‍याप सार्वजनिक गरेका हुन्। 'रिजल्ट नआएसम्म त र्‍यापमा झुम्ने हो,' हिपहप पारामा कुशलले भने। काठमाडौंको ब्राइट फ्युचर स्कुलमा पढेका १६ वर्षे कुशल र्‍यापमा आफूलाई 'काजी'का रुपमा चिनाउँछन्।

भिटेनको बाटो पछ्याउँदै

कुशल कक्षा ७ मा पढ्दैथिए। अलिअलि गीत सुन्थे। त्यहीबेला र्‍यापर समीर घिसिङ 'भिटेन' को 'कथा'ले तान्यो।

आज म जसोतसो आफ्नो पेट पालिराछु

पुरानो गाउँ पुर्ख्यौली खेत बारीमा छु

डाँडापारी जान्छु. दाउराको भारी हाल्छु

जसरी भएपनि दु:ख गरि बाँचिराछु

धर्मेन्द्र सेवान 'फिचर्ड' कथाका शब्दहरुले उनको मन छोयो। यसअघि लाहुरे, युनिक पोयटका र्‍याप सुन्थे उनी। भिटेनको शब्दहरुले उनी र्‍यापका शब्द उन्नतिरै लागे। ‘भिटेनको कथा सुनेपछि नै मैले र्‍याप लेख्न सुरु गरेको हुँ। शब्दहरु नै निकै मन छुने। अनि उहाँको प्रस्तुतीकरण र हम्बलनेस पनि निकै मन पर्छ,’ उनले भने।

लकडाउनले बने 'काजी'

‘लील डन आइसक्यो, लील डन छाइसक्यो’ र्‍याप तयार पारे। साथीहरुबाट 'वाउ' प्रतिक्रिया पाएसँगै कुशल उत्साहित भए। त्यसपछि उनी ‘काजी’ नामबाट स्टेज उक्लिए। कोरोना महामारीले स्कुल बन्द भएपछि अरु विद्यार्थी झैं कुशल पनि घरमै बस्न बाध्य भए। र्‍याप लेख्थे। प्रस्तुत गर्न नपाउँदा उकुसमुकुस हुन्थे। दोस्रोपटकको लकडाउनताका युट्युबमा आफ्नो एकाउन्ट खोले। च्यानलको नाम राखे ‘काजी म्युजिक’।

उनले युट्युब च्यानलमा डेढ दर्जन र्‍याप राखिसकेका छन्। आफूलाई भिटेनको फ्यान भन्न रुचाउने कुशलले गत चैतमा उनैसँग साक्षात्कार गर्ने मौका पाए।

‘हामी छाया सेन्टरतिर घुम्न गएका थियौँ। एक्सिडेन्टली भिटेन दाइसँग भेट भयो। उहाँसँग फोटो खिचायौ। उहाँलाई भेट्न पाउँदा निकै खुसी लाग्यो,’ मक्ख सुनिए कुशल।

र्‍याप गाउँदा परिवारबाटसमेत साथ पाएका छन् उनले। 'नयाँ नयाँ र्‍याप ल्याउँदा परिवारबाट सहयोग हुन्छ, घरमा सपोर्ट छ,' कुशल भन्छन्। र्‍यापमा लगाव भएपनि पढाई पहिलो प्राथमिकतामा छ उनको। र्‍यापमा काजी बनेका कुशल भन्छन्, 'कम्प्युटर साइन्स पढ्ने हो। र्‍यापमा पनि कन्टिन्यु लाग्ने हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell