PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आरक्षण कोटाको मुद्दाले मणिपुरमा सल्केको हिंसा सम्हाल्न नसक्दा धरापमा बीरेन सिंहको मुख्यमन्त्री पद



पहिलोपोस्ट

आरक्षण कोटाको मुद्दाले मणिपुरमा सल्केको हिंसा सम्हाल्न नसक्दा धरापमा बीरेन सिंहको मुख्यमन्त्री पद
शुक्रवार मणिपुरको मोइरांग रिलिफ क्याम्पमा राहुल गान्धी। फोटो : facebook.com/rahulgandhi

पछिल्लो दुई महिना यता भारतको मणिपुरमा आरक्षण मुद्दाका कारण जातीय हिंसा भड्किँदा सय जनाभन्दा बढीको ज्यान गइसकेको छ। ३ मेबाट शुरु भएको हिंसामा परी १३१ जनाको ज्यान गइसकेको छ भने ४१९ घाइते भएका छन्।

माहोल बिग्रिएपछि यहाँका ६५ हजार मानिसहरुले आफ्नो घर छाडेको भारतीय मिडिया भास्कर अनलाइनको दाबी छ। ५ हजारभन्दा बढी आगजनीका घटना भइसकेका छन्। हुलदंगाको आरोपमा १४४ जना मानिसहरु प्रहरी नियन्त्रणमा परिसकेका छन्।

हिंसा बढेपछि ३० जुनसम्म इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। सुरक्षा र शान्ति कायम गर्न यहाँ ३६ हजार सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ।

मणिपुरका तेंगनुपाल, चुराचाँदपुर, विष्णुपर, इंफाल वेस्ट, इंफाल इस्ट हिंसा प्रभावित क्षेत्र हुन्।

किन भड्कियो हिंसा?

मणिपुरमा ३८ लाख जनसंख्या रहेको छ। यहाँ मैतेई, नगा र कुकी समूदायको बाहुल्यता रहेको छ। मैतेई हिन्दुधर्म मान्छन् भने नगा कुकी क्रिस्चियन। मैतेई समूदायका ५३ प्रतिशत, नगा कुकी समुदाय ४० प्रतिशत रहेको छ। ६० विधानसभा सिटमा ४० जना मैतेई समुदायका र २० जना नगा कुकी जनजाति रहेका छन्।

मणिपुरका मुख्यमन्त्री बीरेन सिंह।


मैतेई समूदायले आफूहरुलाई पनि जनजातिको सूचीमा राख्न माग गरेपछि विवाद चर्किएको हो।  उक्त समूदायले मणिपुर उच्च अदालतमा यसबारे रिटसमेत दर्ता गरेका छन्। नगा र कुकीले भने मैतेईलाई जनजातिको आरक्षण दिन नहुने भन्दै विरोध जनाइरहेको छ।

यही विषयमा विवाद बढ्दा यहाँ भिडन्तका लागि फोर्सहरुसमेत गठन भएका छन्। मैतेईहरुले मैतेई लिपुन, अरम्बाई टेंगोल, पिपुल्स लिबरेसन आर्मी, कोआर्डिनेटिङ कमिटी अन मणिपुर इन्टेग्रिटी जस्ता समूह गठन गर्दा नगा कुकी गुटमा कुकी नेसनल आर्मी, कुकी रिभोलुसनरी आर्मी, जोमी रिभोलुसनरी आर्मी, कुकी स्टुडेन्ट्स अर्गानाइजेसन जस्ता फोर्सहरु छन्।

ती फोर्सहरुले भारतीय सेना र सुरक्षा बलबाट लुटेका हतियारका साथै तस्करीबाट आएका हतियार प्रयोग गरेको बताइएको छ। प्रहरी चौकीहरुबाट लुटेका हतियारहरु बरामद हुने क्रम जारी छ।

राहुल हिंसाग्रस्त क्षेत्रमा

भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी हिंसाग्रस्त क्षेत्र मणिपुर पुगेका छन्। गान्धी सरकारी हेलिकोप्टर प्रयोग गरी बिहीवार मणिपुरको चुराचांदपुर पुगेका हुन्। त्यसतर्फ जान लाग्दा प्रहरीले विष्णुपुरमा उनलाई रोकिदिएका थिए। झन्डै ३४ किलोमिटर परै प्रहरीले रोक्नुको कारण थियो, बाटोमा हिंसा भड्किन सक्छ भन्दै।

त्यसपछि राहुल इंफाल फर्केर आएका थिए। आफ्नो भ्रमण त्यहाँ शान्ति र अमनचायन कायमका लागि भएको राहुलले बताएका छन्। शुक्रवारमात्र राहुलले मोइरांग रिलिफ क्याम्पमा हिंसा प्रभावितसँग भेट गरेका छन्।

‘मणिपुरलाई शान्ति चाहिन्छ। यहाँ शान्ति आउनेछ। राहत शिविरमा सरकारले केही काम गरेको छैन,’ क्याम्प पुगेका राहुलले भने।

आफूलाई सबै समुदायले स्वागत गरे पनि सरकारले भने बाटो छेकेको उनको आरोप रह्यो।

यहाँका मुख्यमन्त्री बीरेन सिंह शुक्रवार ३ बजे राजभवन पुगेर राजीनामा दिने तयारीमा रहेको बिबिसी हिन्दीले मुख्यमन्त्री स्रोतलाई उद्धृत गर्दै लेखेको छ। मणिपुरका कतिपय सञ्चार माध्यमले पनि हिंसाको जिम्मेवारी लिँदै बीरेनले मुख्यमन्त्रीबाट राजीनामा दिनसक्ने बताइएको छ।

मुख्यमन्त्री सिंहले राजीनामा दिन लागेको खबर बाहिरिएपछि उनको समर्थकहरुले यसको विरोध जनाएका छन्। उनका समर्थकहरु राजभवन वरपर पुगेर राजीनामा नदिन भन्दै प्रदर्शन जारी राखेको जिन्युजले जनाएको छ।

यसैबिच, मुख्यमन्त्री सिंहले समर्थकको दबाबका कारण राजीनामा पत्र च्यातेका छन्। टाइम्स अफ इन्डियाका अनुसार निर्णय परिवर्तन गरी सिंहले राजीनामा पत्र च्यातेका हुन्। राजीनामाको साटो समाधान चाहिने भन्दै कतिपय प्रदर्शनकारीलेसमेत उनको राजीनामाको विरोध जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell