पोखरा : पोखरामा मुख्यमन्त्रीहरुको भेला शुक्रवारदेखि सुरु भएको छ। भेलामा छ प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा आएका छन्।
दुई दिन नै पोखरा रहने गरी आएका प्रधानमन्त्री दाहालले संविधान जारी भएको सातवर्षको अवधिमा उत्साहजनक काम गरेको बताएका छन्। भेलाको औपचारिक उद्घाटन सत्रलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले प्रदेशको राजधानी र नामकरणलाई उपलब्धि रुपमा लिएको बताएका छन्।
यस्तै, उनले देशले निकै लामो समय राजनीतिक सङ्क्रमणमा बिताएको बताएका छन्।
‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र समृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु हो,’ उनले भने।
भेलामा सातै प्रदेशका सचिवहरुको पनि उपस्थिति रहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री बाहेक वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र मधेशका मुख्यमन्त्री सरोज कुमार यादव सहभागी छन्।