![मध्य असारसम्म लुम्बिनीका अधिकांश खेत बाँझै, ११ प्रतिशत मात्रै सकियो रोपाइँ](https://pahilopost.com/assets/upload/contentthumb/357634606_1977545485920562_6729561535640211288_n.jpg)
बुटवल : लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ। यसपटकको लामो खडेरीले कृषि क्षेत्र प्रभावित भएको छ।
मध्य असार लागिसक्दा पनि प्रशस्त पानी नपरेपछि धान रोपाइँ प्रभावित भएको हो। समयमै पानी नपरेपछि प्रदेशका अधिकांश भू-भागमा धान रोपाइँ गर्न ढिलाइ भएको छ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ११.९ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिए। गत वर्ष यही अवधिमा झन्डै ३० प्रतिशत रोपाइँ भएको उनले बताए।
लुम्बिनीमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३४ हजार ४ सय ८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ। क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै धान खेती कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा हुने गरेको छ।
लुम्बिनीमा यो वर्ष सबैभन्दा धेरै प्यूठानमा ८० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए। कपिलवस्तुमा सबैभन्दा कम ६ प्रतिशत मात्र धान रोपाइँ भएको उनले बताए।
कहाँ कति भयो रोपाइँ?
नवलपरासी पश्चिममा १२ प्रतिशत मात्रै रोपाइँ भएको छ। धान रोपाइँ हुने २० हजार ५ सय हेक्टर क्षेत्रमध्ये २ हजार ४ सय ६० हेक्टरमा रोपाइँ सकिएको छ।
रुपन्देहीमा ८ मात्र प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ सकिएको हो।
सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तुमा हालसम्म ६ प्रतिशत मात्र रोपाइँ भएको छ। धान उत्पादन हुने ७० हजार ७० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ४ हेक्टरमा रोपाइँ सकिएको छ।
त्यस्तै, पाल्पामा १० प्रतिशत रोपाइँ सकिएको छ। पाल्पामा ८ हजार २ सय १० हेक्टर क्षेत्रफलमध्ये ८ सय २१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।
गुल्मीमा ८.५ प्रतिशत रोपाइँ सकिएको छ। गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७ सय ३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको सूचना अधिकारी पौडेलले बताए।
यता, दाङमा ८ प्रतिशत रोपाइँ सकिएको छ। यहाँ कुल धान रोपाइँ हुने ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ।
प्यूठानमा सबैभन्दा धेरै ८० प्रतिशत रोपाइँ सकिएको छ। प्यूठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ। अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमध्ये ८ सय ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।
त्यस्तै, रोल्पामा ४५.५ प्रतिशत रोपाइँ सकिएको छ। रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।
बाँकेमा १३ प्रतिशत रोपाइँ सकिएको छ। धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ४ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ। बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ३ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी पौडेलले बताए।
यसैगरी, सबैभन्दा कम धानखेती हुने रुकुम पूर्वमा ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपाइँ हुने १ हजार ४ सय १९ हेक्टरमध्ये ८ सय ५८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।
पानी नपर्दा ढिलो रोपाइँ
यो वर्ष पानी नपरेकाले धान रोपाइँमा ढिलाइ भएको निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले बताए।
‘यो वर्ष पानी राम्रोसँग परेको छैन’, उनले भने, ‘कतै धानको ब्याड छिप्पिएको छ। पानी ढिलो पर्दा कतिपय स्थानमा किसानले भर्खर ब्याड राख्नुभएको छ।’
पानीका स्रोत भएका कतिपय ठाउँमा किसानले रोपाइँका लागि पम्पसेट लगाएर पानी तानेर धान रोपेपनि अधिकांशले रोप्न बाँकी रहेको रोहिणी गाउँपालिका धकधइका किसान सञ्जय गुप्ताले बताए। पम्पसेट लगाएर पानी तान्दा खर्चिलो हुने र पानीका स्रोत पनि मासिँदै गएकाले समस्या उत्पन्न भएको उनले गुनासो गरे।
समयमै धान रोप्न नपाउँदा धानको उत्पादन घट्ने किसानको भनाइ छ। यो वर्ष समयमै पानी पनि नपर्ने र मल पनि नपाउने समस्याले धानको उत्पादन घट्न सक्ने मोतिपुरका किसान गोविन्द कार्की बताउँछन्।
केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको उनले बताए। केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि किसान खेतबारीमा पुगेर खनजोतमा लागेका छन्।