PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दाइजोको निहुँमा रौतहटमा आमा छोरीको हत्या! प्रहरीको अनुसन्धान जारी



पहिलोपोस्ट

दाइजोको निहुँमा रौतहटमा आमा छोरीको हत्या! प्रहरीको अनुसन्धान जारी

चन्द्रपुर (रौतहट) : रौतहटको मौलापुरमा गत शुक्रवार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ। मौलापुर नगरपालिका-४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रवार राति घरमै मृतावस्थामा शव फेला परेका थिए।

आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए। उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्।

कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ।

उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबिच पटक-पटक विवाद हुने गरेको थियो।

‘बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो,’ साहको आरोप छ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell