PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

निभ्नै गाह्रो भयो, फ्रान्समा लागेको आगो : किशोरको हत्याबाट सुरु भएको आन्दोलन लुटपाट र तोडफोडतिर



पहिलोपोस्ट

निभ्नै गाह्रो भयो, फ्रान्समा लागेको आगो : किशोरको हत्याबाट सुरु भएको आन्दोलन लुटपाट र तोडफोडतिर

किशोरको मृत्युलाई लिएर सुरु भएको दंगाको चौथो दिन फ्रान्समा करिब १ हजार मानिस पक्राउ परेका छन्। प्रहरीद्वारा किशोर मारिएको घटनालाई लिएर सल्केको विरोधको आगो अझै निभ्ने लक्षण देखिएको छैन। पेरिसका विभिन्न भागमा अहिले पनि प्रदर्शन जारी छ। 

राष्ट्रपति इम्यानुल मार्कोनले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई आन्दोलनबाट टाढै राख्‍न आग्रह गरेका छन्। साथै उनले किशोरको मृत्युलाई लिएर आन्दोलनकारीले अतिरंजना फैलाइरहेको आरोप लगाएका छन्। 

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन किलियन एम्बाप्पेले संवाद र छलफलबाट समस्या समाधान गर्नका लागि आग्रह गरेका छन्। 

यसै साताबाट सुरु भएको अशान्ति थामिने संकेत छैन। आन्दोलनकारीको निसानामा सरकारी भवन जस्तै सिटी हल, लाइब्रेरी र सामुदायिक केन्द्रहरु परिरहेका छन्। आन्दोलन लम्बिरहँदा लुटपाट र पसलमा चोरीका घटना बढ्दो छ। 

फ्रान्समा भइरहेको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौंपटक झडप जारी छ। बुधवारसम्म प्रहरीले ४०० भन्दा बढीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धेरैजसो १४ देखि १८ वर्षका रहेका छन्।

मंगलवार एक प्रहरीले नहेल एम नाम गरेका १७ वर्षीय युवाको गोली हानी हत्या गरेपछि प्रदर्शन सुरु भएको थियो। 'ट्राफिक स्टप'का क्रममा भागेपछि उनीमाथि गोली प्रहार गरिएको थियो। यसको विरोधमा फ्रान्सभर प्रदर्शन भइरहेको छ।

प्रदर्शन नियन्त्रण गर्न देशभर करिब ४० हजारभन्दा धेरै संख्यामा प्रहरी खटाइएको छ। प्रदर्शनकारीसँगको झडपका क्रममा धेरै प्रहरी घाइते भएको फ्रान्सका गृह मन्त्री गेराल्ड डरमनिनले बताएका छन्। प्रदर्शनका क्रममा पसलहरुमा लुटपाट र तोडफोड भएका छन्।

गोली हान्ने प्रहरीलाई नियन्त्रणमा लिइएको छ। उनले मृतक नहेलका परिवारसँग क्षमायाचना समेत गरेका छन्। अरबी मूलको भएका कारण आफ्नो छोरामाथि गोली प्रहार भएको नाभेलकी आमाले आरोप लगाएकी छिन्। नहेललाई न्याय माग्दै बिहीवार हजारौं मानिसले 'मार्च' निकालेका थिए।

जारी छ लुटपाट

बिहीवार राति पेरिसमा रहेका जारा र नाइक शो रुमबाट सामान लुटियो तोडफोड भयो। विशेषरी देशका साना पसलहरु लक्षित गरेर तोडफोड र लुटपाट बढेको छ। शुक्रवार पनि यसरी लुट्नेक्रम जारी रह्यो। शुक्रवार यस्तै खराब अवस्थाका कारण एप्पलले स्टारवर्गमा रहेको स्टोर बन्द गर्‍यो। एउटा समूहले आक्रमण गर्न थालेसँगै स्टोर बन्द गरिएको हो। शुक्रवार राति धेरै ठाउँका पसलहरु लुटिएका छन्। पहिलो साता सुरु हुने समर सेल यसबाट प्रभावित भएको छ। 

 

अर्का किशोरको पनि मृत्यु
फ्रान्सेली मिडियाका अनुसार रोयुनको एक सुपरमार्केटको छतबाट खसेका १९ वर्षीय किशोरको मृत्यु भएको छ। शुक्रवार हुलदंगाकै बिच उनी मलबाट खसेका थिए। उनको अस्पतालमा मृत्यु भएको जनाइएको छ। उनी आन्दोलनकारी थिए या अरु कोही खुलिसकेको छैन। प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दंगा र लुटपाटको दौरान उनी मलको छतबाट तल झरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell