काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयु लामो नभएको बताएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा शर्माले उक्त भनाइ राखेका हुन्।
शरीरका अंगहरुमा दाँतको आयु सबैभन्दा छोटो हुने उल्लेख गर्दै शर्माले कांग्रेस जिब्रोजस्तै भएको बताए।
'हाम्रोमा ५० प्रतिशत नपुग्दा फेरि चुनाव भयो सभापतिको। तलतिर नारायणी तिरमा अर्कोलाई भोट नदिनु भनेर पर्चाबाजी भयो। हाम्रो बाहेक अरु पार्टीमा संसदीय दलको चुनाव भयो त?,' शर्माले भने, 'हाम्रो डेमोक्रेटिक छ। जो बढी खुला हुन्छ, जो लचकदार हुन्छ, उसको आयु लामो हुन्छ। कतिले कता के बजायो भन्छन्। तर, सबैभन्दा कान्छो अंग दाँत हो। सबैभन्दा कान्छो आयु कसको हो? दाँतकै हो। सबैभन्दा नरम जिब्रो हो। जिब्रोको आयु लामो हुन्छ।'
शर्माले नयाँ पार्टीहरु खहरे खोलाजस्तै भएकोले यसबाट एक मेगावट बिजुली पनि ननिस्कने तर्क गरे।
'खहरे गड्गडाउँछ। तर एक मेगावट बिजुली निस्किँदैन,' शर्माले भने, 'निरन्तर बाग्ने सानो नदीबाट ड्याम बनाएर बिजुली निकालिन्छ।'
शर्माले कांग्रेस विशाल डिपार्टमेन्टल स्टोर भएको उल्लेख गर्दै खाली हुँदै गर्दा केही कमजोरी भएको बताए।
'नेपाली कांग्रेसको विशाल डिपार्टमेन्टल स्टोर खाली हुँदै र अरुका पान दोकान भरिँदै गएको यथार्थ छ। कांग्रेसको कमजोरीका कारण यस्तो भएको हो,' शर्माले भने।
उनले नेपाली कांग्रेस बाहुन क्षेत्रीको पार्टीमात्र नभएर जनजातिको पनि पार्टी भएकोसमेत बताए। कांग्रेसले बीपी कोइरालाको पालाको पार्टीजस्तो ठुलो आकारको र बलियो बनाउनुपर्नेसमेत उनको भनाइ रह्यो।