PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रहरी हिरासतबाट भागेका दुई जना पक्राउ



पहिलोपोस्ट

प्रहरी हिरासतबाट भागेका दुई जना पक्राउ

बुटवल : बर्दियाको इलाका प्रहरी कार्यालय ढोढरीको हिरासत कक्षबाट भागेका दुई जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार बिहान सवा ६ बजेतिर हिरासतबाट भागेका मधुवन नगरपालिका ५ का २० वर्षीय राजा नेपाली र १९ वर्षीय अजय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। अजयलाई शुक्रवार मध्यान्ह  र राजालाई शनिवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।

उनीहरू असार ८ गते ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थिए। अनुसन्धानको क्रममा हिरासतमा रहेका उनीहरू शुक्रवार बिहान हिरासत कक्षको ढोका खोलेर भागेका थिए। थुनुवा भागेको खबर पाएलगत्तै प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीको नेतृत्वमा विभिन्न युनिटबाट १५० जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। स्थानीय र तालिमप्राप्त कुकुरसमेतको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

स्थानीयको सूचनाअनुसार मधुवन ५ स्थित बेलझुण्डी सामुदायिक वनमा खोज्दै जानेक्रममा शुक्रवार मध्यान्ह १२:५० मा अजय पक्राउ परेका थिए। तर, उनीसँगै भागेका राजा शुक्रवार राति ७ बजेसम्म खोज्दा पनि नभेटिएपछि प्रहरी जंगलबाट फर्किएको थियो। शनिवार बिहान ५ बजेदेखि नै प्रहरी टोली राजाको खोजीमा परिचालन भएको थियो। मधुवन ५ स्थित डाँडे सामुदायिक वनमा खोज्दै जानेक्रममा बिहान ८:४० बजे राजालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थुनुवा भागेपछि ड्युटीमा खटिएका प्रहरीमाथि छानबिन गरी कारबाही गरिने प्रहरी प्रमुख शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell