PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धेरैचोटि अर्जी हाल्दा पनि गगनको दर्शन नपाएको भन्दै कोइरालाले सोधे : तपाईं र शेरबहादुरमा फरक के?



पहिलोपोस्ट

धेरैचोटि अर्जी हाल्दा पनि गगनको दर्शन नपाएको भन्दै कोइरालाले सोधे : तपाईं र शेरबहादुरमा फरक के?

काठमाडौं : नेपाली कांग्रेस दोलखाका नेता ताराबहादुर कोइरालाले चिल्लो अनुहारले पार्टीमा रुपान्तरण नहुने बताएका छन्। नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको प्रथम काठमाडौं सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले लेखेरमात्र रुपान्तरण नहुने सुझावसमेत दिए।

'गगनजीको पुस्ताले कहिले रुपान्तरणको नारा दिनुहुन्छ कहिले, कहिले के को नारा दिनुहुन्छ हामी विश्वास गर्छौं,' उनले भने, 'तर नारा र लेखेरमात्रै पार्टी भित्रको सुधार हुँदैन शेरबहादुर प्रवृत्तिको अन्त्य हुँदैन मुलुकको रक्षा पनि हुँदैन।' पार्टीमा गुटगत राजनीति गर्न गगन समूह पनि पछि नरहेको उल्लेख गर्दै कोइरालाले देउवा र गगनमा केही फरक नरहेको दाबी गरे। 'शेरबहादुरले गुटबन्दी गर्‍यो भने पैसाको आधारमा राजनीति गर्‍यो भने तपाईहरुले भन्नुपर्छ गुट गर्दिनँ,' कोइरालाले भने, 'तस्कर माफियासँग सम्बन्ध राख्दिनँ भन्नुपर्छ। श्रीमान गगन थापाज्यु, तपाई र शेरबहादुरमा हामीले फरक कसरी देख्ने?'

गगन होस् या देउवा दुबैले आफ्नो मान्छेलाई टिकट दिने भएकोले कार्यकर्ताले खासै फरक नदेख्नेसमेत उनको तर्क रह्यो। 'तपाईलाई महाधिवशेनमा आफ्ना नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, टिकट तपाईका भरौटेहरुलाई चाहिने, अनि शेरबहादुरलाई पनि त्यही चाहिने, गगन र शेरबहादुरमा हामीले फरक कसरी देख्ने?' कोइरालाले थप प्रश्न गरे।

विपरित धारमा बग्नसकेमात्र महान नेता बन्न सक्ने उनको भनाइ थियो। 'यति भन्दाभन्दै तपाईहरु नै हो राजनीतिको भविष्य। तपाईहरु महान मान्छे,' कोइरालाले भने, 'लहैलहैमा लाग्ने मान्छे, जता हावा बह्यो त्यतै दौडने, जता नदी बग्यो उतै जाने मान्छे महान नेता हुन सक्दैन। विपरित धारमा बग्ने महान हुन्छ। तपाईहरु आँट गर्नुस्।'

कोइरालाले अनुहार फेरेर पार्टीमा रुपान्तरण नहुने धारणासमेत राखे। यसका लागि प्रवृत्ति फेरिनुपर्ने उनको मत थियो। 'रुपान्तरण अनुहारले हुँदैन। खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनुमात्र रुपान्तरण हैन हुँदैन। रुपान्तरण त विचारमा हुनुपर्छ। कार्यशैलीमा हुनुपर्छ। प्रवृत्तिमा हुनुपर्छ। पार्टी बनाउने योजनामा रुपान्तरण हुनुपर्छ,' कोइरालाले भने, 'पुरस्कार आफ्ना मान्छेलाई दिने, दण्ड विरोधीलाई दिने, दुईटा नेविसंघ बनाएर हिँड्ने आफ्नो मान्छेलाई केन्द्रीय सदस्यमा भर्ती गरेर हिँड्ने। त्यसपछि रुपान्तरणका कुरा गर्ने?'

यसका लागि कार्यशैलीसमेत सुधार्नपर्ने उनको सुझाव रह्यो। 'नेताहरु आफ्नो कार्यशैली सुधार्नुस्। शेरबहादुरको पदको विरोध नगर्नुस्। नीतिगत गुरु गर्नुस्। नभए तपाईहरुको पनि पतन हुन्छ,' कोइरालाले भने। महामन्त्रीहरुलाई भेट्नै गाह्रो हुनेसमेत उनको गुनासो थियो। 'तपाईहरुलाई भेट्न कठिन हुन्छ अधिवेशनमा ठुलो पदमा उठ्नुहुन्छ,' कोइरालाले भने, 'महामन्त्री, उपसभापित, सभापतिहरुलाई भेट्नै धेरै कठिन छ धेरै चोटि अर्जी हाल्दा पनि दर्शन पाइँदैन,' उनले भने, 'आज सौभाग्य हो कार्यकर्ताको, त्यसैले सुझाव दिँदैछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell