PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वेस्टइण्डिज विश्वकप पुग्न असफल



पहिलोपोस्ट

वेस्टइण्डिज विश्वकप पुग्न असफल
Photo: ICC

काठमाडौँ: टेस्ट राष्ट्र वेस्टइण्डिज भारतमा हुने विश्वकपमा पुग्न असफल भएको छ। जिम्बावेको हरारेमा आज जारी विश्वकप छनोट अन्तर्गतको सुपर सिक्सबाटै वेस्ट इण्डिज बाहिरिने पक्का भएको हो।

आज सम्पन्न खेलमा वेस्ट इण्डिजलाई स्कटल्याण्डले ७ विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। खराव सुरुवात गरेको वेस्ट इण्डिजले २०.४ ओभरमा निकोलस पुरनको विकेट जाँदा ८१-६ को खराब अवस्थामा थियो। त्यसपछि आएका जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले ३६ तथा केभिन सिन्केल्यरले १० रन जोड्दै वेस्टइण्डिजलाई झिनो लक्ष्यभन्दा केही माथि लगे। बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३ विकेट लिँदा क्रिस सोल, मार्क वाट र क्रिस ग्रिभ्सले समान २ विकेट लिए। त्यस्तै साफयन सरिफले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। स्कटल्याण्डका लागि म्याथ्यु क्रसले सर्वाधिक अविजित ७४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले ६९ तथा जर्ज मुन्सले १८ रन बनाउए। बलिङतर्फ वेस्टइण्डिजका जेसन होल्डर, रोमेरियो सेपार्ड र अकिल हुसैनले समान १ विकेट लिए।

जितसँगै स्कटल्याण्डले शीर्ष दुईमा पुग्ने सम्भावना कायम राख्दा वेस्ट इण्डिजले विश्वकप खेल्ने सम्भावना सकिएको हो। वेस्ट इण्डिज दुई पटकको विश्वकप विजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell