PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

ललिता निवासको किर्ते प्रकरणमा मेरो संलग्नता छैन : बाबुराम



पहिलोपोस्ट

ललिता निवासको किर्ते प्रकरणमा मेरो संलग्नता छैन : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्। 'कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन,' बाबुरामले भनेका छन्।

आफ्नो १९ महिने प्रधानमन्त्रीकालमा भएका विषयमा यसअघि नै अख्तियारसँग बयान दिइसकेको उनले बताएका छन्। 'ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर मन्त्रिपरिषदको सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ,' बाबुरामले भनेका छन्, 'यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।'

अहिले राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने प्रवृत्ति भयंकर रुपले झांगिएको उल्लेख गर्दै उनले सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखेका छन्। 'देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु,' बाबुरामले भनेका छन्, 'बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell