PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बालुवाटार जग्गा प्रकरणलाई 'संगठित' अपराधमा लैजाँदै प्रहरी, ६० दिनसम्म हिरासतमा राखेर गर्न सक्छन् अनुसन्धान



सविन ढकाल

बालुवाटार जग्गा प्रकरणलाई 'संगठित' अपराधमा लैजाँदै प्रहरी, ६० दिनसम्म हिरासतमा राखेर गर्न सक्छन् अनुसन्धान

काठमाडौं : ललिता निवास प्रकरणमा गएको मंगलवार समातिएका चार जना अभियुक्तको बयान लिने काम सुरु गरेको छ। उनीहरुको बयान र थप प्रमाणको आधारमा पूर्व कर्मचारीदेखि सरकारी पदमा रहेका अन्य व्यक्तिहरुको पनि बयान हुनेछ। त्यसका आधारमा पक्राउ गर्ने तयारी पनि भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलवार सात जनालाई पक्राउ गरेको थियो। जसमा अदालतको स्टे अर्डरका कारण तीन जना रिहा भएका थिए।

मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको हकमा भने प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान गरिरहेको छ। त्यस्तै, अरु अनुसन्धानको घेरामा रहेकामाथि पनि प्रहरीले निगरानी थालेको छ। केही व्यक्ति सम्पर्कबाहिर रहेका छन् जसलाई प्रहरीले खोजिरहेको छ।

'अब बयान सुरु भएको छ। बयानबाट पनि थप खुल्ने अपेक्षा लिएका छौं। अनुसन्धानमा देखिएका व्यक्तिलाई पक्राउ गर्छौं,' व्यूरो प्रमुख एआईजी किरण बज्रचार्यले भनिन्।

ललिता निवास प्रकरण पूर्व मन्त्रीदेखि कर्मचारीसम्मको लहरो जोडिएको छ। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो। त्यतिखेर अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत यस मुद्दामा तानिएका थिए। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्‍नेतको नाम पनि यो सूचीमा थियो। अहिले प्रहरीको अनुसन्धान र लिस्टमा उनीहरुको पनि नाम रहेको छ। धेरै जसो व्यक्ति आयोगले बुझाएको प्रतिवेदनमा रहेका व्यक्तिहरु नै हुन्।

'अनुसन्धानको आधार त आयोगको प्रतिवेदन नै हो। धेरै व्यक्तिको नाम त्यतिखेर पनि आएको थियो। त्यसलाई थप अनुसन्धान गर्ने हौं,' एआईजी बज्रचार्यले भनिन्।

पहिले यसै विषयमा आयोगले भष्टाचारको केसमा पनि मुद्दा दायर गरेको थियो। प्रहरीले ४ वर्षपछि भने किर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो। त्यसो त डेढ वर्षअघि नै व्यूरोले किर्तेमा अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा लगेको थियो। त्यतिखेर प्रमाण र अनुसन्धान नपुगेको भन्दै प्रहरीकहाँ फिर्ता आएको थियो। तर त्यसपछि किर्तेको हदम्याद सकिएको भन्दै अधिकांश अभियुक्त ढुक्क भएर बसेका थिए। अहिले पनि हदम्यादको विषय भने पेचिलो बनेको छ। पक्राउ परेका अभियुक्तले हदम्याद नाघेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए। शुक्रवार निवेदनको सुनुवाई गर्दै अदालतले प्रहरी पक्राउ कारण आदेश माग गरेको छ।

व्यूरो प्रमुख एआईजी किरण बज्राचार्य भने पक्राउ परेकाहरुलाई म्याद थप हुने र हदम्याद नलाग्ने बताउँछिन्। उनको तर्कअनुसार मुलुकी ऐन २०२० मा भएको व्यवस्था अनुसार किर्ते प्रकरणमा हदम्याद हुँदैन। तर, अहिले मुलुकी ऐनलाई अपराध संहिताले विस्थापित गरिसकेको छ जसमा यस्ता केसमा दुई वर्षे हद म्याद छ। अदालतबाट हिरासतमा राख्ने म्याद पाउनु, पक्राउ गर्नुअघि नै पक्राउ पुर्जी पाउनुले पनि प्रहरीको हदम्याद सम्वन्धी कानुनी प्रावधानमा मनोबल बढेर गएको छ।

प्रहरीले अब किर्तेमा मात्र नभएर संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएको छ। संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले हिरासतमा राख्ने ६० दिन अनुमति पाउँछ। यदि किर्तेमा मात्र अनुसन्धान गर्ने भए २४ दिनभित्र सरकारी वकिलमा अनुसन्धान फाइल बुझाउनुपर्ने हुन्छ।

'सबै घटनाक्रम हेर्दा संगठित देखिन्छ। त्यसैले यो पनि आकर्षित होला भन्ने हो,' एआईजी बज्रचार्यले भनिन्।

प्रहरीले १ सय ४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा बनाएर अनुसन्धान गरिरहको छ। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरि नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा रहेको देखिएको हो।

२०४९ देखि विभिन्न चार वटा चरणमा बाटो कटाएर १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको अनुसन्धानमा खुल्छ। २०४९ पछि विभिन्न चार सालमा जग्गा हडपिएको देखिएको छ। प्रहरीको अनुसन्धानमा १९८७ को लालमोहरद्वारा ललिता निवासको २ सय ८७ रोपनी ८ जग्गा थियो। उक्त जग्गा श्री ३ भीमशम्शेरले प्राप्त गरेका थिए। त्यसपछि शुवर्णशम्मेरको नाममा आएको थियो। त्यसपछि तत्कालीन श्री ५ को सरकारको नाममा आएको थियो। जसमा ललिता निवास पनि परेको थियो। १ सय ४३ मध्ये पहिलो चरणमा १ सय १२ रोपनी जग्गा गएको थियो। यस प्रकरणमा राणालाई फिर्ता गरेको किर्ते मिसिल तयार पारेको देखिएको छ। जसमा २२ रोपनी कर्मचारीको नाममा भएको देखिएको छ। पहिलो चरणमा १ सय १२ रोपनी जग्गा गएको थियो। दोस्रो अवस्थामा भने १२ आना जग्गा हालसाविक गरेर व्यक्तिको नाममा पारिएको थियो। तेस्रो अवस्थामा भने मोही सृजना गरेर २५ रोपनी जग्गा लिएको पाइएको छ। उनीहरुले मोहीलाई पैसा दिएर फेरि आफ्नो नाममा त्यो जग्गा पारेको देखिएको छ। बाँकी ४ रोपनी जग्गा पशुपति टिकिन्जा गुठी सृजना गरेर गएको देखिएको छ।

यस केसमा प्रहरीले मुद्दा नम्बर २४, २५, २५ र २७ गरेर अनुसन्धान गरिरहेको छ। मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गर्नेहरु रहेका छन्। जसमा २ सय ९ जनाको पक्राउ पुर्जी जारी भएको छ। मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाम दर्ता भएको जग्गा रहेको छ। जसमा १ सय १० जना मानिसको संलग्नता खुलेकाले पक्राउ पुर्जी तयार छ। मुद्दा नम्बर २६ मा छुट जग्गा रहेको छ। जसमा १३ जनाको संलग्नता देखिएको छ। त्यस्तै, मुद्दा नम्बर २७ मा २५ रोपनी जग्गा रहको छ। निवास वरिपरी विसेतार सट्टापट्टा र सोधभर्ना रहेको छ। जसमा ७४ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell