PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

देउवाबारे गगनलाई मन्त्री साउदको जवाफ : भाग्यले हैन, योग्यताले पटक-पटक प्रधानमन्त्री



पहिलोपोस्ट

देउवाबारे गगनलाई मन्त्री साउदको जवाफ : भाग्यले हैन, योग्यताले पटक-पटक प्रधानमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस सभापति शेरबहादुर देउवा भाग्यले पटकपटक सत्तामा नपुगेको बताएका छन्। नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतवार आयोजना गरेको कार्यक्रममा योग्यताकै कारण देउवा पटकपटक प्रधानमन्त्री भएकोसमेत तर्क गरे। 'धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन,' साउदले भने, 'तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ?  शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।'

नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएकोसमेत उनको भनाई थियो। शनिवारमात्र महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवा पटकपटक प्रधानमन्त्री भएकोतर्फ लक्षित गर्दै आफ्नो भनाइ राखेका थिए। संसारमा कुनै देशमा एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री नहुने बताएका थापाले जिकिर गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन,’ महामन्त्री थापाले भनेका थिए।

नयाँ पार्टीको कुनै संगठन नभएको र सोसल मिडियाको भरमा उनीहरुको राजनीति नटिक्ने साउदको तर्क थियो। 'नयाँनयाँ पार्टी आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरुको कतै संगठन छैन। उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन्,' उनले भने, 'पार्टी पद्धतिमा विश्वास गर्दैनन्। पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell