PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

काँडेतारलाई १० लाख पुरस्कार, कसरी बनेको थियो स्टोरी बैंक?



पहिलोपोस्ट

काँडेतारलाई १० लाख पुरस्कार, कसरी बनेको थियो स्टोरी बैंक?

काठमाडौं : चलचित्र विकास बोर्डबाट नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ ले १० लाख पुरस्कार पाएको छ। बोर्डको स्टोरी बैंक(कथा संग्रहालय) अन्तर्गत काँडेतारको कथालाई उत्कृष्ट छनोट गर्दै १० लाख रुपैयाँ सहयोग गरिएको हो।

शनिवार सम्पन्न बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले निर्देशक तथा कलाकार खड्कालाई चेक हस्तारण गरिन्।

देशभक्ति र राष्ट्रवादी भावनामा बनेको चलचित्रलाई नेपाल सरकारले सहयोग गर्दा निकै खुसी लागेको निर्देशक खड्काले बताए।

खड्काले भने,‘स्टोरी बैंकमा कथा छनोट भएर मात्रै हुँदैन, फिल्म पनि बनिसक्नुपर्छ। फिल्म बनेर देखाएपछि उहाँहरुले यो सहयोग रकम दिनुभएको हो’ 

गतवर्षको असोजमा भएको निर्णयअनुसार बोर्डले ‘काँडेतार’लाई १० लाख सहयोग गरेको बोर्डका अध्यक्ष भुवन केसीका निजी सचिव निराजन गिरीले बताए।

‘स्टोरी बैंकको स्थापना दयाराम दाहालको पालामा भए पनि कार्यान्वयन चाँहि भुवन दाईको बेला भएको हो। उत्कृष्ट फिल्मको कथालाई १० लाख दिने दिने निर्णय पनि उहाँले नै गर्नुभएको हो। गतवर्षको असोजमा काँडेतारसँगै तीनवटा चलचित्रहरुलाई सहयोग गरिने घोषणा गरिएको थियो। तर,अन्य फिल्महरु भने बन्न सकेका छैनन्,’ गिरीले भने।

सामना फिल्मस् प्रालिद्वारा निर्मित यो फिल्‍म खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ। शिवन अधिकारी र नवल खड्काको लेखन रहेको यो फिल्म आगामी फागुन २५ गतेबाट प्रदर्शन हुनेछ।

नेपालमा पहिलोपटक वि.सं २०७७ मा बोर्डका अध्यक्ष दयाराम दाहालको अवधारणा र पहलमा स्टोरी बैंक (कथा संग्रहालय) स्थापना भएको थियो। नेपाल सरकारको २०७७/७८ को आर्थिक बजेटमा मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेपछि बोर्डले मौलिक चलचित्र छनोटका लागि ‘स्टोरी बैंक’ औपचारिक सुरुवात भएको थियो।

बोर्डका सदस्य सचिव महेन्द्र बहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधी २०७७’ ल्याएको थियो। उक्त समितिको सह-सहयोजकका रुपमा कलाकार नवल खड्का समेत रहेका थिए।

स्टोरी बैंकको कार्यविधिमा मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचान बोकेको कथा र पटकथालाई उत्कृष्ट छनोट गरि निर्माणका लागि प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरिने उल्लेख छ।

पहिलो साल बोर्डले एक सुचना जारी गर्दै ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथा मध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो। आर्थिक वर्ष २०७८/७९ को  बजेटमा पनि सरकारले स्टोरी बैंकलाई निरन्तरता दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell