PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

ताप्लेजुङ टु दार्चुला बाइक टूरमा सहभागी ६ युवाको अनुभव यस्तो



पहिलोपोस्ट

ताप्लेजुङ टु दार्चुला बाइक टूरमा सहभागी ६ युवाको अनुभव यस्तो

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर र दिगो पर्यटनको मुद्दा बोकेर पत्रकार र कलाकार सम्मिलित ६ युवाको टोलीले साहसिक ताप्लेजुङ–दार्चुला बाइक टूर गरेको छ। काठमाडौंबाट जेठ १० गते सुरु भएको यात्रा ताप्लेजुङ, झापा, महेन्द्रनगर, दार्चुला, पोखरा हुँदै जेठ ३२ गते टिम काठमाडौँ फर्किएको थियो।

२३ दिन लामो यात्रामा ६ युवा पत्रकार र कलाकारको टोलीले ४५ जिल्ला पुगेको थियो। करिब चार हजार किलोमिटर यात्रा गरेको टोलीले नेपालको पर्यटन प्रवर्द्धन वर्तमान अवस्था, जलवायु परिवर्तनको असर र दिगो पर्यटनको एजेन्डालाई लिएर नेपालको सबैभन्दा लामो बाइक टूर गरेको हो।

एनटीपी मल्टिमिडिया ग्रुपको संयोजनमा भएको टूरमा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, होटल एशोसिएसन अफ नेपाल हान र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सहयोग तथा सहकार्य रहेको थियो।

ग्रुपका अध्यक्ष तथा नेपाल टूरिजम फेस्टिभलका संयोजक विष्णु विवेकले नेतृत्व गरेको टिममा कलाकार पवित्रा खडका्, पत्रकार चन्द्र तामाङ, रियाज पौडेल, चन्द्रकला कार्की र रितास्मा मुखिया रहेका थिए। काठमाडौँमा ताप्लेजुङ जाँदा विनेश खनाल, डिके कार्की, गोपाल खनालसमेत टिममा भएपनि उनीहरु आफ्नै प्राविधिक कारण खोटाङ र धनकुटाबाट फर्किएका थिए। दार्चुलासम्म पुगेकी पत्रकार रितास्मा मुखिया भने चितवनबाट जोडिएकी हुन्।

काठमाडौंबाट सुदूरपूर्वी जिल्ला ताप्लेजुङ पुगेर झापा हुँदै महेन्द्रनगर भएर सुदूरपश्चिमको जिल्ला दार्चुला पुगेको ६ युवाको साहसिक टिमले पहिलोपटक चीन र भारत छुने दुवै जिल्ला ताप्लेजुङ–दार्चुला बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको हो।

बाइक टुरपछिको अनुभव

पहिलोपटक ताप्लेजुङ–दार्चुला बाइक टूरको संयोजन गरेर यात्रा सम्पन्न गरेकोमा संयोजक विष्णु भन्छन्, ‘नेपाल टुरिजम प्रोमोसन टूरः ताप्लेजुङ टू दार्चुला साँच्चै एक ऐतिहासिक यात्रा रह्यो। हामीले ४५ भन्दा बढी जिल्लाहरू पार गर्दै २३ दिनमा करिब चार हजार किलोमिटर मोटरसाइकलमा यात्रा गर्‍यौँ। यो बाइक टूर यात्राले नेपालको पर्यटनमा दीर्घकालीन महत्व राख्ने विश्वास छ।’ यसअघि काठमाडौँ–रारा बाइक टूर गरेका विष्णु विवेकले ताप्लेजुङ–दार्चुला बाइक टूरका सफल राइडर पनि हुन्।

अर्की सदस्य पवित्राले भारत र बङ्गलादेशसहित नेपालको ७० भन्दा बढी जिल्लाहरू घुमिसकेकी छन्। पछिल्लो बाइक टूरमा उनको लागि नयाँ जिल्ला दार्चुला मात्रै थियो। बाँकी जिल्लाहरूमा उनी पहिला नै पुगेकी थिइन्।

मल्टिमिडिया पत्रकार रियाज यसलाई पर्यटन प्रवर्द्धन पत्रकारितका रुपमा लिन्छन्। 'नेपालको आर्थिक विकासको सम्भावित क्षेत्रहरूमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो। पर्यटन र पर्यटनसँग सम्बन्धित विषयवस्तुहरूलाई नेपालका मूलधारका मिडियाहरूले स्थान नै दिन सकेका छैनन्', रियाज भन्छन्, 'नेपालको पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटनमा केन्द्रित पत्रकारिता सुरु गरेका हौँ।'

ताप्लेजुङ टु दार्चुला यात्राका अर्का राइडर हुन्, चन्द्र तामाङ। उनी विगत पाँच वर्षदेखि पत्रकारितामा सक्रिय छन्। चन्द्र भन्छन्, 'मानिसहरू कि आनन्द प्राप्तिको लागि घुम्छन् कि त अध्ययनको लागि। तर, म चाहिँ अध्ययनकै लागि घुम्छु, किनकि म अध्ययनबाटै आनन्द प्राप्त गर्छु।'

खोटाङ ऐँसेलुखर्क गाउँपालिका–१ चन्द्रकला विगत दुई वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय छिन्। 'समाज र संस्कृतिको अध्ययन मेरो रुचि हो। त्यसैका लागि यात्रामा निस्कने गरेकी छु,' उनले भनिन्। उनले थाइल्याण्डसहित नेपालका ५० भन्दा बढी जिल्लाहरूको यात्रा गरेकी छन्।

झापाको विर्तामोडस्थित सनराइज एफएममा कार्यक्रम प्रस्तोता र प्राविधिकको रूपमा प्रसारण पत्रकारितामा होमिएकी रितास्मा टेलिभिजन पत्रकारितामा सक्रिय छिन्। पाँचथरको हाङगुममा जन्मिएकी रितास्मा अन्तर्मुखी स्वभावकी छिन्। रितास्मा भन्छिन्, 'बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्ने मान्यता छ। त्यसैले कम बोल्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell