PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

बजेटमा आपत्ति जनाउँदै एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित



पहिलोपोस्ट

बजेटमा आपत्ति जनाउँदै एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल : लुम्बिनी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन्। असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध प्रदेश सभा बैठक आइतवारको लागि आह्वान गरिएको थियो।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतवार प्रदेशसभाको बैठक बसेको थियो। अर्थमन्त्री धनबहादुर मास्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नसाथ विपक्षी सांसदले राज्यकोषको दुरुपयोग गर्ने गरी बजेट आएकोले संशोधन हुनुपर्ने भन्दै नाराबाजी गरेका हुन्। सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए।

सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान एमालेले लिएको छ। एमाले प्रमुख सचेतक तुलसी चौधरीले राज्यकोषको चरम दुरुपयोग गरी ल्याइएको बजेट संशोधन नभएसम्म सदन चल्न नदिने बताए।

‘अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ,’ चौधरीले भने।

असार १ गते अर्थमन्त्री मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेश गरेका थिए। बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता बितिसक्दा पनि छलफल सुरु भएको छैन।

असार १० गते बजेटमाथि छलफल गर्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो। प्रतिपक्ष दलले बैठक अवरुद्ध गरेपछि बैठक सोमवार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell