PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोशीमा ५ दिनमा सरकार नबने के हुन्छ?



प्रकाश भण्डारी

कोशीमा ५ दिनमा सरकार नबने के हुन्छ?

काठमाडौं: कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार सरकार गठनका लागि आह्वान गरेका हुन्। ५ दिनको समय दिएर असार २१ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्रीमा दाबीका लागि बोलाएका छन्।

दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने सदस्यले सरकार गठन गर्न सक्ने संविधानको व्यवस्थामा टेकेर खापुङ्गले ५ दिनको समय दिएका छन्।

'प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,' संविधानको धारा १६८ (२)मा भनिएको छ।

संविधानको यही धारालाई आधार मानेर प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरुलाई बोलाएका छन्। खापुङ्गले नयाँ सरकार गठनको कानुनी पाटोबारे आफूले महान्यायाधिवक्ताको राय लिएको पनि उल्लेख गरेका छन्। 'प्राप्त रायसमेतको आधारमा खापुङ्गज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेश सभामा...,' विज्ञप्तिमा भनिएको छ।

पुन: परीक्षण किन?

धारा १६८ (२) अनुसार बनेको मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। बहुमत सदस्यको समर्थन नभएमा सरकार ढल्ने व्यवस्था पनि संविधानमा छ। पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको सरकार पनि संविधानकै यसै व्यवस्था अनुसार ढलेको हो।

असार १५ मा कार्कीले राखेको विश्वासको मतको प्रस्ताव स्वीकृत हुन एक मतको आश्यकता पर्‍यो। ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक  थियो। तर उनले ४६ मत मात्रै पाए। उनका विरुद्धमा परेको मत पनि बहुमत छैन। ४३ सांसद मात्रै उनका विपक्षमा छन्। दुई दलको सरकारले पनि विश्वासको मत नपाएको एक पटक परीक्षण भइसकेको छ।

तर संविधानकै धारा १६८ को उपधारा ५ मा 'विश्वासको मत प्राप्त गर्ने अवस्था रहेमा' भन्ने व्यवस्थालाई आधार मानेर प्रदेश प्रमुखले ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था १६८ (३)लाई प्रयोग नगरी १६८(२) अनुसारकै सरकार गठनका लागि आह्वान गरेका हुन्। पूर्वमुख्यमन्त्री कार्की पनि १६८(२) अनुसार नै मुख्यमन्त्री भएका थिए।

 

एमालेले दुई दल मिलेर पनि सरकार बन्न सक्न अवस्था नरहेको भन्दै ठूलो दलको हैसियतमा सरकार गठनका लागि आह्वान हुनुपर्ने दाबी गरेको थियो। तर, प्रदेश प्रमुखले एमालेको दाबीलाई अस्वीकार गरे। ठूलो दलको सरकार बन्ने व्यवस्था अनुसार नयाँ सरकारका लागि आह्वान भएको अवस्थामा एमालेले नै फेरि सरकार बनाउने छ।

किनभने कोशी प्रदेशमा ४० सांसद सहित पहिलो पार्टी हो। कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६,  एकीकृत समाजवादीका ४, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १ सांसद छन्। जसपाकी निर्मला तावा लिम्बुले जेठ १७ मा सरकारबाट राजीनामा दिएकी थिइन। जसपा विश्वासको मतमा तटस्थ बसेको थियो।

बन्ला ५ दिनमा नयाँ सरकार?

कार्कीले लिएको विश्वासको मतमा एमालेका र राप्रपाका सांसदले विश्वासको मत दिएको भए पनि जसपाले असन्तुष्टि जनाएर सरकार छाडेकाले विश्वासको मत दिएन। त्यसैले उनको पक्षमा ४६ सांसद मात्रै भए। कांग्रेस, एकीकृत समाजवादी र माओवादीका गरी कोशीमा गठबन्धनसँग ४६ सांसद छन्। सभामुख माओवादीका बाबुराम गौतम सहित गठबन्धनसँग ४७ सांसद छन्। उनले राजीनामा दिइसकेकाले सरकार गठनमा निर्णायक नहुने भन्दै एमालेले विरोध गरिरहेको छ।

नयाँ सरकार गठनका लागि प्रदेशमा मिल्न नसकेको भन्दै गठबन्धनका नेताहरु काठमाडौं आएका छन्। केन्द्रमै मिलाएर मात्रै सरकार गठन गर्न सकिने बुझाइमा प्रदेश गठबन्धनका नेता लविङमा लागेका हुन्। कोशीमा गठबन्धन भित्रै कसले सरकारको नेतृत्व गर्ने भन्नेबारेमा विवाद छ। माओवादी र कांग्रेस दुबैले मुख्यमन्त्रीको दाबी गरिरहेका छन्। कांग्रेसलाई वाग्मतीमा मुख्यमन्त्री दिएर कोशीमा माओवादीलाई मुख्यमन्त्रीको भागबण्डा मिलाउने प्रयत्न गठबन्धनमा भइरहेको गठबन्धन दलका नेताहरुले बताउने गरेका छन्। 

विघटन हुन्छ?

कार्कीले विश्वासको मत लिने बेलामा प्रदेश सभा सदस्यलाई आफूलाई मत नदिए विघटन हुने चेतावनी दिएका थिए। तर उनले विघटनको सिफारिस भने गरेनन्। त्यसैले अब तत्काल प्रदेश सभा विघटन हुने भन्ने देखिन्न।

सुरुमा १६८(२) अनुसार नै सरकार गठनका लागि दलहरुले प्रयास गर्नेछन्। त्यसअनुसार सरकार बन्न नसेके १६८(३) अनुसार ठूलो दलको हैसियतमा एमालेले बनाउने छ। उक्त व्यवस्था अनुसार पनि सरकार बन्न नसकेमा भने विघटनमा जाने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell