PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फेरि काठमाडौंमा नक्कली नोटको त्रास ! यही बन्छ कि अन्त? खोज्दै प्रहरी



पहिलोपोस्ट

फेरि काठमाडौंमा नक्कली नोटको त्रास ! यही बन्छ कि अन्त? खोज्दै प्रहरी

काठमाडौं : भारतको सीमा जोडिएका तराईका जिल्लाहरुमा नक्कली नोटको बिगबिगी नै छ। भारतमा छापेर नेपाल भित्रिने नोट बिस्तारै काठमाडौं उपत्यकाभित्र पनि भेटिने थालेको छ। त्यसो त पहिले पनि काठमाडौं र ललितपुरमा नै प्रेस सहित नोट छाप्ने समुह नै नसमातिएका होइनन्।

गत शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ सय रुपैयाँका १ सय ६० थान नक्कली नोट बरामद गरेको थियो। ललितपुर इमाडोलबाट मकवानपुर, मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई नियन्त्रणमा लिएको हो।

'घरबाट नै रकम सहित नियन्त्रणमा लिएका हौं। नोट कहाँबाट आयो? बाहिर कति गयो भन्ने अनुसन्धानको चरणमा नै छ,' काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले भने।

प्रहरीले ५०० दरका १६० थान गरी जम्मा ८० हजार बराबरको नक्कली नोट बरामद गरेको हो।  त्यस्तै, ललितपुरवाट वैशाख १० गते ३६ वर्षीय जीवन तामाङलाई ललितपुर प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो। गोदावरीमा रहेको एक किराना पसलमा सामान लिन पुगेका जीवनले पसलमा दुई  किलो मैदा र दुई लिटर तेल किनेर नक्कली नोट दिएका थिए।

खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३ घर भइ गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासी बस्ने जीवनको वास्तविक नाम भने सुरेश तामाङ रहेको खुलेको थियो। उनको नक्कली नोटको कनेक्सन पोखरामा समेत देखिएको थियो। कास्की मादी गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका २१ वर्षीय सुकुटे भन्ने भूपाल बिकको संलग्नता खुलेको थियो।

कास्कीको मार्दी गाउँपालिका वडा नम्बर ७ थाहा चोक नजिकैबाट १८ हजार नक्कली नोट भेटिएको थियो।

खोजी गर्दै जाँदा गोदावरी नगरपालिका वडा नम्बर ११ बज्रवाराहीबाट उनी पक्राउ परेका थिए। उनको साथबाट पनि प्रहरीले नक्कली नोट फेला पारेको थियो। उनको कोठामा पुग्दा प्रहरीले थप प्रमाण भेट्टाएको थियो। फोटोकपी / प्रिन्टर मेसिनको प्रयोग गरेर कोठामा नै नक्कली नोट तयार गर्ने गरेको खुलेको थियो।

नक्कली नोटको कारोवारमा फेला परेपछि उनी जताजता गएका थिए प्रहरीले ती सबै क्षेत्र ट्र्याक गरेको थियो। उनी पोखरा गएकाले त्यहाँ पनि नक्कली नोट हुने आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। एक महिनाको अवधिमा उनले ३५ हजार ३ सय रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए। जसमा १७ हजार रुपैयाँ पानीले भिजेर नदीमा फ्याँलेको प्रहरीलाई बयान दिएका थिए।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई महिला सहित ४७ जना नक्कली नोट कारोबारमा समातिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या ४४ पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा ७९ पुग्यो। यो बाहेक १५ जना विदेशी नागरिक पनि समातिए।

गएको आर्थिक वर्षमा देशभरबाट ४ करोड २३ लाख ३४ हजार रुपैयाँ अवैध नोट बरामद भयो। जसमा ३ करोड ७८ लाख १ हजार ६ सय ३३ रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ५९ लाख रुपैयाँ नक्कली नोट भेटियो। जसमा २५ वटा मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७६/७७ मा ४१ वटा मुद्दा सङ्ख्या पुगेको थियो।

तीन महिना अघि पनि यसै गरि काठमाडौंको कालोपुलमा नक्कली नोट भेटिएको थियो। दुई जनालाई पक्राउ समेत परेका थिए।

रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्कीलाई गिरफ्तार गरिएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साइजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको थियो। उनीहरुले २२ लाख रुपैयाँ बराबरको नक्कली नोट १० लाखमा बिक्री गर्ने तयारी गरेका थिए।

प्रहरीसँगको बयानमा उनीहरुले नोट तराईका जिल्लाबाट नोट काठमाडौं ल्याएको खुलेको थियो। यसरी हर्दा भारतसँग सिमा जोडिएका तराईका जिल्लाबाट नेपाल भित्रिएका नोट काठमाडौंसम्म आइपुग्ने गरेका छन्। यस्ता नोट बढी भिडभाड हुने पसल, रेष्टुरेष्ट तथा बारमा लगेर कारोबार गर्ने गरिएको छ।

पछिल्लो समय जफत भएको नक्कली नोट काठमाडौंमै उत्पादन भएको वा अन्य स्थानमा खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell