PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कांग्रेसलाई मक्ख पार्न प्रचण्डले के भने?



पहिलोपोस्ट

कांग्रेसलाई मक्ख पार्न प्रचण्डले के भने?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ एजेण्डा लिएर आउनेलाई सम्मान गर्ने बताएका छन्। सत्ता गठबन्धन दलबिच बेमेल उत्पन्न भएको चर्चा भइरहेका बेलामा नयाँलाई ठाउँ दिन सकिने तर्क प्रचण्डले गरे।

नेपाली कांग्रेसका नेता कार्यकर्ताको जमघट भएको कार्यक्रममा उनले नयाँ पुस्ताका नेताहरुलाई बल पुग्नेगरी धारणा राखे। गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी समारोहमा प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन सक्नेका लागि ठाउँ छोड्न सक्ने बताए।

'हाम्रो भन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासको साथ कोही आउने हो भने हामीलाई तिनीहरुलाई सम्मान गर्न, ठाउँ छोडिदिन केही गाह्रो छैन,' उनले भने। 

लोकतन्त्रमा खतराको घण्टी बजेको चेतावनी प्रचण्डको छ। 'खतराको घण्टी बजेको छ लोकतन्त्रमाथि, जनताको भविश्यमाथि,' प्रचण्डले भने,' तपाईं विद्वान मित्रले धेरै विचार गर्न सक्नुहुन्छ। म नभए हुँदैन जस्तो लाग्यो।'

प्रचण्डले आफू प्रधानमन्त्री कसरी भए भन्नेबारे पनि बेलिबिस्तार लगाएका थिए। 'अरुबाट यो काम अहिले हुँदैन पछि होला। जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने लागेर प्रधानमन्त्री भएरै छाडे, ' उनको भनाइ रह्यो।

कांग्रेस नेता कार्यकर्तालाई मक्ख पार्न प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्यबिना शान्ति प्रक्रियाले पूर्णता नपाउने तर्क पेश गरे। 'शान्ति प्रक्रियालाई अगाडि बढाउन नेपाली कांग्रेस बिना हुनै सक्दैन भन्ने मेरो विश्वास डगमगाएन।

म कता कताबाट प्रधानमन्त्री भए पनि अन्तत: नेपाली कांग्रेससँगै हो भनेर म आएँ। बढो विचित्रको अनुभुति भयो मलाई। झण्डै शत प्रतिशत सदनको भोट पनि पाए मैले। त्यसपछि कहिले यता कहिले उता जस्तो देखियो। यो पटक म चाहिन्छ भन्नेमा दृढ थिए। अहिले पनि छु,' नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यबारे प्रचण्डले भनेका थिए। 

कम्युनिस्टहरु एक ठाउँमा आउदा कांग्रेसका नेता कार्यकर्ता झस्किएको भए पनि कांग्रेससँगको सहकार्य नटुटने प्रचण्डको वाचा थियो। 'लेफ्टहरु एउटै ठाउँ हुनुपर्छ भन्दा कहिलेकाहि नेपाली कांग्रेसका साथीहरु के गर्छ प्रचण्डले भन्या जस्तो पर्छ। मैले लेफ्टहरुको युनिटी कुरा गर्दा नेपाली कांग्रेससँग डिसयुनिटी कहिले हुनेछैन,' उनले भने।

प्रचण्डले कांग्रेस र कम्युनिस्ट नमिले देश अप्ठेरोमा पर्ने चेतावनी पनि दिएका छन्। 'शान्ति सम्झौता या संविधान सभा नेपाली कांग्रेस र लेफ्टहरुको सहकार्यबाट मात्रै सम्भव भएको हो। यसलाई हामीले बिर्सियाउ भने देश दुर्घटनामा पर्छ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell