PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काकालाई बुवा बनाएर नागरिकता लिने प्रयास असफल, दुई जना पक्राउ



पहिलोपोस्ट

काकालाई बुवा बनाएर नागरिकता लिने प्रयास असफल, दुई जना पक्राउ

बुटवल : बुटवलमा झुटो विवरण पेश गरी नागरिकता बनाइदिन खोज्ने एक दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीया सीता कशौधन रहेका छन्।

उनीहरुले आइतवार इलाका प्रशासन कार्यालय बुटवलबाट सीताका ३ सन्तानलाई बुवाको नाममा रमेशको नाम राखेर नागरिकता बनाइदिन खोजेका थिए। वडाको सिफारिससहित आएका उनीहरूलाई इलाका प्रशासन कार्यालयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएको थियो।

अनुसन्धानका क्रममा रमेश र सीताबाट अहिलेसम्म कुनै पनि सन्तान नजन्मिएको खुलेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सीताका आफ्नै सन्तान भएपनि रमेशले दाजु (राजकुमार)का सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन लागेको भेटिएको बताए।

उनीहरूले आफ्ना छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्ममिति र २०५९ साल १ महिना १७ गते जन्ममिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्ममिति भएकालाई छोरा भनी विवरण पेश गरेर नागरिकता लिने प्रयास गरेको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

उनका अनुसार पति ३ सन्तान जन्माएर भारततिर गएर नफर्केपछि सीताले देवर रमेशसँग विवाह गरेकी थिइन्। नागरिकताका लागि झुटो विवरण पेश गरेकाले उनीहरूमाथि नागरिकता ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको ज्ञवालीले बताए। 

‘राजकुमारले तीन सन्तान आफ्नो भएको र आफू रोजगारीका लागि भारत गएको अवस्थामा श्रीमतीले भाई (रमेश)सँग बिहे गरेको भनेर प्रहरीमा बयान दिएका छन्। त्यही अनुसार हामीले कारबाहीका लागि सिफारिस गरेका हौँ,’ उनले भने।

उनीहरूलाई नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतले सिफारिस गरेका थिए। नेपालको नागरिकता ऐन, २०६३ को दफा २१ मा कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell