PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लुम्बिनीमा एमालेको नाराबाजीबीच बजेटमाथि छलफल



पहिलोपोस्ट

लुम्बिनीमा एमालेको नाराबाजीबीच बजेटमाथि छलफल

बुटवल : लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथिको छलफल सकिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न सोमवार आह्वान गरिएको प्रदेश सभा बैठकमा पनि एमालेले अवरोध गरेको थियो। 

सभामुख तुलाराम घर्तीले सोमवारको पहिलो बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए। सभामुखले समय उपलब्ध गराएपछि उनले सम्बोधन गर्दै सरकारले एकलौटी र बलमिच्याइँ गरेर अगाडि बढ्न खोजेकाले सदनमार्फत् विरोध जनाएको उल्लेख गरे। बजेटमा भएका कमजोरी र निर्देशनालय हटाउने निर्णयलाई सच्याउन आफुहरुले माग गर्दै आएको उनले दोहोराए। विपक्षीको विरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो।

पुनः सुरु भएको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख घर्तीले बैठक अघि बढाए। दोस्रो बैठकमा सभामुख घर्तीले सैद्धान्तिक छलफल अघि बढाएपछि एमालेका सांसदहरू रोस्टममै पुगेर नाराबाजी गरेका थिए।

बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखेका थिए। नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए। उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे।

राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउन सुझाव दिइन्। स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि राजनीतिक मुद्दामा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे। प्रतिपक्षी दलका सदस्य विष्णु पन्थीलाई छलफलमा भाग लिन समय उपलब्ध गराए पनि उनी बोलेनन्। विपक्षी दलले छलफलमा भाग नलिएपछि अर्थमन्त्री मास्कीले छलफलका क्रममा उठेका विषयवस्तुमा जवाफ दिएका थिए। अर्थमन्त्रीको जवाफसँगै सभामुख घर्तीले राजस्व र व्ययमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरेका हुन्। प्रदेश सभाको आगामी बैठक मंगलबार दिउसो १ बजेका लागि आह्वान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell