PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

देवचुलीमा सुरु भयो चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार



पहिलोपोस्ट

देवचुलीमा सुरु भयो चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरु भएको छ। दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमवारदेखि सर्पदंशको उपचार थालिएको हो।

देवचुली नगर अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिए। नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुनेबित्तिकै उपचारका लागि गैँडाकोट तथा कावासोती जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

नवलपुरका पालिकासहित तराईमा सर्पदंशका बिरामीले समयमा उपचार नपाउँदा मृत्युवरण गर्नेको सङ्ख्या बढ्दो छ। सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणका लागि देवचुली नगर अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंश उपचार सेवा सुरु गरिएको जनस्वास्थ्य अधिकृत सुनारको भनाइ छ।

यदि कसैलाई सर्पले टोकेको अवस्थामा धामीझाँक्री तथा झरफुकमा जान नहुने जनाउँदै उनले बिरामीलाई सिधै नगर अस्पतालमा ल्याउनुपर्ने बताए। सर्पदंश उपचार सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीलाई पूर्णरूपमा स्वास्थ्य सेवा प्रदान गर्न आफूहरूले नगर अस्पतालको सेवा विस्तारमा ध्यान केन्द्रित गरेको बताए।

उनले गर्मी महिना सुरु भएसँगै सर्पदंशको जोखिम उच्च हुने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरे। नगरपालिकाले नगर अस्पताललाई आवश्यक जनशक्तिसहित चौबीसै घण्टा सञ्चालन गर्न आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए।

यस वर्षमात्रै जिल्लामा तीन सय ९४ जनालाई विषालु तथा अविषालु सर्पले टोकेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। कार्यालयका ‘फोकल पर्सन’ डिल्लीराम तिवारीका अनुसार जिल्लामा विषालु सर्पले १५ पुरुष तथा १२ महिला र अविषालु सर्पले एक सय ८५ पुरुष तथा एक सय ७७ महिला गरी तीन सय ७२ जनालाई टोकेको छ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने उनले बताए। सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो-चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्ने जनाइएको छ।

उनका अनुसार सर्पदंशका बिरामीलाई धामी-झाँक्रीतिर नलग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा पुर्‍याउनु पर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell