मेटाले ट्विटरको प्रतिस्पर्धी एप बिहीवारबाट लन्च गर्ने भएको छ। फेसबुकले ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारीसँगै एलन मस्कले ट्विटरका प्रयोगकर्तालाई सीमित मात्रामा पोस्ट हेर्न मिल्ने भन्दै आफ्नो डेटा सुरक्षाको विषय उठाएका थिए।
फेसबुकको कम्पनी मेटाले ल्याउन लागेको एपको नाम थ्रेड्स राखिएको छ। एप स्टोरमा यसलाई प्रिअर्डर गर्न सकिन्छ र इन्स्टाग्रामसँग लिङ्क गर्न सकिन्छ। सार्वजनिक भएका यसको स्क्रिनसटहरु हेर्दा ट्विटरकै जस्तो लुक देखिन्छ। मेर्टाले थ्रेडसलाई 'टेक्स्टमा आधारित संवादको एप' भनेको छ।
पछिल्लो समय मेटाका मालिक मार्क जुकरबर्ग र ट्विटरका मालिक एलन मस्कबिचको द्वन्द्वका रुपमा थ्रोडसलाई लिन सकिन्छ। गत महिना यी दुई चर्चित 'साहु'बिच फाइट खेल्नेसम्मको बहस भएको थियो। 'फिजिकल फाइट'का लागि तयार भएको बताउने उनीहरुको प्रतिस्पर्धा चाहिँ भर्चुअल नै हुने देखिएको छ।
ट्विटरले शुल्क लिएर भेरिफाइड व्याचका लागि प्रवर्द्धन गरिरहेको अवस्थामा फेसबुकले थ्रेडस ल्याउन लागेको हो। गत शनिवार मस्कले 'डेटा स्क्र्यापिङ'बाट बचाउनका लागि भ्यू संख्या निर्धारण गर्न परेको जनाएका थिए।
त्यसलाई काउन्टर दिँदै मेटाको थ्रेटमा निशुल्क हुने बताइएको छ र त्यसमा भ्यू असीमित रहने जनाइएको छ।
'थ्रेड्समा समुदाय एकैसाथ आएर उनीहरुको चासोको विषयमा छलफल गर्न सक्नेछन् जुन भोलिका दिन ट्रेन्डिङ हुनसक्छ,' एप स्टोरले मेटाको नयाँ प्रडक्टबारे भनेको छ।
त्यसो त ब्लु स्काइ पनि ट्विटरकै प्रतिस्पर्धीका रुपमा हेरिएको हो। अरु पनि त्यस्ता सोसल साइट छन् जो ट्विटरजस्तै लाग्छन्। तर अरु जेसुकै भए पनि तत्कालका लागि ट्विटरको कुनै थ्रेट हो भने त्यो मेटाको थ्रेड्स ने हो।
अरुको आइडियालाई ल्याएर आफ्नोमा जोड्ने जुकरवर्गको शैली नयाँ होइन। यसमा उनी सफल नै छन्। उनले टिकटकको कपीमा रिल तयार गरेर फेसबुक र इन्स्टाग्रामलाई फरक बनाइसकेका छन्। त्यसैले ट्विटरका लाग मेटा सधैं चुनौती नै रहने छ। साथै मेटासँगै स्रोत साधन र जनशक्ति पनि छ जसले ट्विटरसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ। थ्रेड्स सुरुमै इन्स्टाग्रामको अंगका रुपमा लन्च हुनेछ जसका प्रयोगकर्ता करोडौं छन्। त्यसैले थ्रेड्सलाई शून्यबाट सुरुवात हुनुपर्ने अवस्था छैन।
केही समय यता एलन मस्कप्रति पनि मानिसहरु प्रभावित छन्। विशेषगरी उनका अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आएका अभिव्यक्तिलाई लिएर। हेरौं यी दुईको प्रतिस्पर्धाले कुन उचाई लिन्छ।