PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वेस्ट बैंक शहरमा हालसम्मकै व्यापक इजरायली शैन्य अपरेशन, यस्तो छ जेनिन शरणार्थी शिविरभित्रको हालत



पहिलोपोस्ट

वेस्ट बैंक शहरमा हालसम्मकै व्यापक इजरायली शैन्य अपरेशन, यस्तो छ जेनिन शरणार्थी शिविरभित्रको हालत
Photo: REUTERS

इजरायल नियन्त्रित क्षेत्र वेस्ट बैंकस्थित जेनिन शरणार्थी शिविरमा इजरायली सेना र सशस्त्र प्यालेस्टाइनी लडाकूहरू बिच दोहोरो गोलाबारी चलेको छ।

सो क्षेत्रमा इजरायली सेनाले सोमवारदेखि हालसम्मकै व्यापक मानिएको ड्रोन हमलासहितको अपरेशन सुरु गरेको हो। सो क्रममा ९ जना प्यालेस्टाइनी मारिएको र एक सय जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरायलले जेनिनलाई ‘आतंकवादको शरण स्थान’ बन्नबाट रोक्न शैन्य अपरेशन सुरु गरेको बताएको छ। प्यालेस्टाइन पक्षले भने यसलाई युद्ध अपराधको शंज्ञा दिएको छ।

यो अपरेशन सकिने कुनै निश्चित समयरेखा नभएको भन्दै इजरायली सेनाले ‘एक घण्टा वा केही दिन’ पनि लाग्न सक्ने बताएको छ।

जेनिन नयाँ पुस्ताका प्यालेस्टाइनी लडाकूहरुको आधार शिविर बनेको छ। जो प्यालेस्टाइनको पाका नेतृत्व र इजरायलको नियन्त्रणप्रति अत्यन्त रुष्ट बनेका छन्।

स्थानीय प्यालेस्टाइनीले इजरायलीमाथि घातक हमला गर्न थालेपछि सो शहरमा गतवर्ष इजरायलले तीव्र रुपमा शैन्य अपरेशन चलाएको थियो। सो शहर अन्य प्यालेस्टाइनी आक्रमणकारीहरुले लुकेर बसेको बताइएको छ।

२००२ को दोस्रो प्यालेस्टाइनी इन्टिफादा (इजरायलविरुद्ध प्यालेस्टाइनको विद्रोह)को समयमा इजरायली सेनाले जेनिनमा ‘फुल स्केल’मा शैन्य प्रतिरोध सुरु गरेको थियो। १० दिनसम्म चलेको युद्धमा कम्तिमा ५२ जना प्यालेस्टाइनी लडाकू र सर्वसाधारण तथा २३ जना इजरायली सेना मारिएका थिए।

सैन्य अपरेसन सुरु भएको २० घण्टापछि सोमवार रातिसम्म पनि सयौँ इजरायली सेनाहरू जेनिनभित्र गोलाबारी गरिरहेका थिए।

१८ हजार मानिसको बसोबास रहेको शरणार्थी शिविरमाथिको आकाशमा ड्रोनहरु उडिरहेका थिए भने गोलाबारी र विस्फोटनको आवाजले वातावरण अशान्त बनेको थियो। सो शिविर अहिले बन्द इजरायली शैन्य क्षेत्र घोषणा गरिएको छ।

इजरायली सेनाले शिविरमा टेलिफोन र बिजुली आपूर्ति बन्द गरेको छ। जसकारण भित्र के भइरहेको छ भन्ने थाहा पाउन मुस्किल छ। प्यालेस्टाइनी चिकित्सकहरू पनि त्यहाँ रहेका दर्जनौं घाइतेहरूसम्म पुग्न सकिरहेका छैनन्।

इजरायली सेनाले सर्वसाधारण नागरिकहरूलाई हानी पुर्‍याउने प्रयास नगरेको तर धेरै मानिस ‘क्रस फायर’मा परेको बताएको छ। सोमवार राति सेनाले ५०० प्यालेस्टाइनी परिवारलाई शिविरबाहिर जान दिएको थियो।

केहीले आत्मसमर्पणको संदेश दिन हात उठाएका थिए भने सेतो झण्डा देखाएका थिए। सो क्रममा केही पुरुष र किशोरहरुलाई रोकिएको र भित्रै राखिएको शिविर बाहिर निस्किएका मानिसहरुले बताएका छन्।

पहिलो ड्रोन आक्रमण एक अपार्टमेन्ट भवन गरिएको थियो। जसमा इजरायलीहरुमाथि आक्रमण गर्नेहरु लुकेर बसेको विश्वास गरिएको सेनाले बताएको छ। हवाइ आक्रमणका क्रम पछि थप ड्रोनहरु पनि प्रयोग गरिएको थियो।

पछिल्लो डेढ वर्षमा इजरायली लक्षित ५० हमलामा जेनिनका प्यालेस्टाइनीहरुको संलग्नता रहेको सेनाको दाबी छ।

शिविर भित्रबाट प्रतिरोध गरिरहेका सशस्त्र प्यालेस्टाइनी जेनिन ब्रिगेडले भनेका छन्, ‘हामी इजरायली सेनासँग अन्तिम सास र गोलीसम्म लड्नेछौं, र हामी सबै समूह र सैन्य संरचनाहरूबाट एकजुट हुनेछौँ।’

जेनिन ब्रिगेड ग्रुपका लडाकूहरु। Photo: EPA


प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले रातभरको ड्रोन हमलामा ९ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ। उनीहरू सबै युवा तथा किशोरावस्थाको उमेरका रहेको र केही सशस्त्र समूहहरूसँग सम्बन्धित भएको बताइएको छ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने मन्त्रालयले बताएको छ।

यता, इजरायली सेनाले जेनिनमा मारिएका सबै प्यालेस्टाइनीहरू लडाकू समूहसँग आबद्ध रहेको बताएको छ। अपरेशनका क्रममा ५० जना लडाकू समातिएको र हतियारहरु बरामद गरिएको सेनाले बतायो।

सोमबार साँझ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘आतंकवादीहरूको गुँड’ भनिने ठाउँमा प्रवेश गरेकोमा आफ्नो सेनाको प्रशंसा गरे भने सेनाले ‘नागरिकहरूलाई न्यूनतम चोट’ पुर्‍याएको पनि दाबी गरे।

‘शान्ति र सुरक्षा पुनर्स्थापना गर्न आवश्यक परेको समयसम्म हामी यसलाई जारी राख्नेछौँ,’ उनले थपे।

प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद श्तायेहले सो अपरेशनप्रति चर्को विरोध जनाएका थिए।

‘जे भइरहेको छ यो शरणार्थी शिविर पूर्ण रूपमा मेटाउने र त्यहाँका बासिन्दाहरूलाई विस्थापित गर्ने प्रयासमात्रै हो,’ उनले भने।

छिमेकी राष्ट्र जोर्डनले यसलाई ‘अन्तर्राष्ट्रिय मानविय कानुनको स्पष्ट उल्लङ्घन’ भनेको छ। यता, अमेरिका भने इजरायलको पक्षमा उभिएको छ। अमेरिकाले यसलाई ‘इजरायलको सुरक्षा तथा हमास, प्यालेस्टाइनी इस्लामिक जिहाद र आतंकवादी समूहबाट प्रतिरक्षा गर्न पाउने अधिकार’ भनेको छ।

इजरायलका विदेशमन्त्री एली कोहेनले यो अपरेशन जेनिनबाहिर विस्तार नगर्ने योजना भएको तर प्यालेस्टाइनी आन्दोलनकारी हमास शासित गाजामा पुगिसकेको बताए। जेनिनमा अपरेशन लम्बिए अर्को खतरनाक र ठूलो शैन्य कारबाहीको जोखिम पनि त्यति नै रहेको बताइएको छ।

पछिल्ला महिनाहरूमा वेस्ट बैंकमा हिंसाका घटनामा बृद्धि भएको थियो। जुन २० मा इजरायली आक्रमणको क्रममा सात प्यालेस्टाइनीहरू जेनिन मारिएका थिए। जसमा सेनाले वेस्ट बैंकमा वर्षौंपछि पहिलो पटक हेलिकप्टरको प्रयोग गरेको थियो।

त्यसको भोलिपल्ट दुई हमास बन्दुकधारीहरुले ४० किलोमिटर दक्षिणमा रहेको एलीको बस्ती नजिकै चार इजरायलीहरूलाई गोली हानेर मारेका थिए।

नजिकैको टर्मुसाया शहरमा झडपको क्रममा एक प्यालेस्टिनी व्यक्तिलाई पनि गोली हानी मारिएको थियो।

सोही हप्ता इजरायली ड्रोन हमलामा जेनिनका तीन प्यालेस्टाइनी लडाकूहरु मारिएका थिए।

यस वर्षको सुरुदेखि इजरायली सेना तथा स्थानीयद्वारा वेस्ट बैंक र पूर्वी जेरुसेलममा १४० भन्दा प्यालेस्टाइनीहरू (लडाकू र नागरिकहरू) मारिएका छन्। त्यस्तै, गाजा क्षेत्रमा अन्य ३६ जना मारिएका छन्।

इजरायल र वेस्ट बैंकमा प्यालेस्टाइनीहरूले गरेको आक्रमण २४ इजरायली, दुई विदेशी र एक प्यालेस्टिनी कामदार मारिएका छन्। मारिनेमा एकजना अफ-ड्युटी सेना र इजरायली सुरक्षा बलका सदस्य बाहेक सबै सर्वसाधारण नागरिक थिए।

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell