PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

धर्मराएको ब्याटिङ सम्हाल्दै गुलसनको अर्धशतक, आयरल्याण्डलाई २६९ रनको लक्ष्य



पहिलोपोस्ट

धर्मराएको ब्याटिङ सम्हाल्दै गुलसनको अर्धशतक, आयरल्याण्डलाई २६९ रनको लक्ष्य

काठमाडौँ: नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। जिम्बावेको टाकासिंगा स्पोर्ट्स क्लबमा विश्वकप छनोटअन्तर्गतको सातौँ स्थानका लागि प्लेअफको जारी खेलमा नेपालले आयरल्याण्डसमू २६९ रनको लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १६९ रनमा ७ विकेट गुमाएको फितलो अवस्थाबाट पुनरागमन गर्दै २६९ रनमा चुनौती प्रस्तुत गरेको हो।

नेपालको लडखडाएको ब्याटिङ सम्हाल्न गुलसन झा र सन्दीप लामिछानेको साझेदारी महत्वपूर्ण बन्यो। उनीहरुले ८ औँ विकेटका लागि ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी बनाए। यसक्रममा गुलसन झाले अर्धशतक समेत बनाए।

त्यसअघि ओपनर अर्जुन साउद भने अर्धशतकबाट चुकेका थिए। ओपनर साउदले ८४ बलमा ४८ रन बनाउँदै एलबीडब्लु आउट हुँदा आफ्नो दोस्रो ओडीआई अर्धशतक बनाउने अवसर गुमाए।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८.१ ओभरमा ८ रन बनाएर खेलिरहेका कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेट ज्ञानेन्द्र मल्लको १२.३ ओभरमा गुम्यो। भुर्तेल र मल्ल दुबै क्राइग योङको बलमा लोर्कन टक्करबाट क्याचआउट भएका थिए। तेस्रो विकेट कप्तान रोहित कुमार पौडेलको गयो। ३५ बलमा २९ रन बनाएका उनी कर्टिस क्याम्परको बलमा क्याचआउट भए।

त्यस्तै २५.६ ओभरमा अर्जुन साउद गेरेथ डेनलीको बलमा एलबीडब्लु आउट भए। टिकेर नेपाललाई ठूलो स्कोरतर्फ डोहोर्‍याउन कोशिष गरेका अर्जुन साउद पाँचौँ विकेटका रुपमा ३५.२ ओभरमा बेरी म्याकार्थीको बलमा एण्डी म्याकब्राइनबाट क्याच आउट भए। उनी पछि आएका दीपेन्द्रसिंह ऐरी ३६.६ ओभरमा म्याब्राइनको बलमा क्याच आउट हुँदा नेपाल थप दवाबमा आयो।

त्यस्तै ३७.२ ओभरमै आक्रामक ब्याटिङ गरिरहेका कुशल मल्ल ठूलो सट खेल्ने सुरमा म्याकार्थीको बलमा ह्यारी टेक्टरबाट क्याचआउट भए।

नेपालले पहिलो विकेटका लागि २७ रनको साझेदारी बनाउँदा दोस्रो विकेटका लागि १७ रनको साझेदारी बनायो। त्यस्तै ५० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने बेलामा कप्तान पौडेलको विकेट गएको थियो। चौथो विकेटका लागि साउद र भीम सार्कीले १४ रनको साझेदारीमात्र बनाउन सके। पाँचौँ विकेटका लागि भीम र कुशलले ५९ रनको साझेदारी गरे। ३५.२ ओभरमा भीमको विकेट गुम्दा नेपालको स्कोरबोर्डमा १६२-५ को अवस्था थियो।

यसपछि पनि नेपालको ब्याटिङ धराशायी हुने क्रम रोकिएन। दीपेन्द्रसिंह ऐरी डकआउट हुँदा दवाबमा आएको नेपाललाई आक्रामक ब्याटिङ गरिरहेका कुशल मल्लको विकेटले थप दवाब बढायो।

तर, १६९-७ को अवस्थामा साझेदारी सुरु गरेका गुलसन झा र सन्दीप लामिछानेले नेपालको इनिङ्स उकासे। उनीहरुले ६७ बलमा ८० रनको साझेदारी गरे। लामिछाने ४८.३ ओभरमा ३० बलमा ३२ रन बनाएर मार्क अडायरको बलमा क्याचआउट भए। त्यसपछि आएका करण केसी अन्तिम ओभरको पहिलो बलमा अडायरकै बलमा ४ रनमा आउट हुँदा गुलसन झा ५७ रनमा अविजित रहे। उनले ४२ बलमा ४ चौका र ३ छक्काको सहायतामा ५७ रन बनाएका हुन्।

आयरल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell