PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित, आठौँ बन्दै टुंगियो जिम्बावे यात्रा



पहिलोपोस्ट

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित, आठौँ बन्दै टुंगियो जिम्बावे यात्रा
Photo: ICC

काठमाडौँ: नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो।

विश्वकप पुग्ने होडबाट बाहिरिसकेका आयरल्याण्ड र नेपालले क्रमश सातौँ र आठौँ बन्दै प्रतियोगिता टुंग्याएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

नेपालको इनिङ्स

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १६९ रनमा ७ विकेट गुमाएको फितलो अवस्थाबाट पुनरागमन गर्दै २६९ रनमा चुनौती प्रस्तुत गरेको थियो।

नेपालको लडखडाएको ब्याटिङ सम्हाल्न गुलसन झा र सन्दीप लामिछानेको साझेदारी महत्वपूर्ण बन्यो। उनीहरुले ८ औँ विकेटका लागि ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी बनाए। यसक्रममा गुलसन झाले अर्धशतक समेत बनाए।

त्यसअघि ओपनर अर्जुन साउद भने अर्धशतकबाट चुकेका थिए। ओपनर साउदले ८४ बलमा ४८ रन बनाउँदै एलबीडब्लु आउट हुँदा आफ्नो दोस्रो ओडीआई अर्धशतक बनाउने अवसर गुमाए।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८.१ ओभरमा ८ रन बनाएर खेलिरहेका कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेट ज्ञानेन्द्र मल्लको १२.३ ओभरमा गुम्यो। भुर्तेल र मल्ल दुबै क्राइग योङको बलमा लोर्कन टक्करबाट क्याचआउट भएका थिए। तेस्रो विकेट कप्तान रोहित कुमार पौडेलको गयो। ३५ बलमा २९ रन बनाएका उनी कर्टिस क्याम्परको बलमा क्याचआउट भए।

त्यस्तै २५.६ ओभरमा अर्जुन साउद गेरेथ डेनलीको बलमा एलबीडब्लु आउट भए। टिकेर नेपाललाई ठूलो स्कोरतर्फ डोहोर्‍याउन कोशिष गरेका अर्जुन साउद पाँचौँ विकेटका रुपमा ३५.२ ओभरमा बेरी म्याकार्थीको बलमा एण्डी म्याकब्राइनबाट क्याच आउट भए। उनी पछि आएका दीपेन्द्रसिंह ऐरी ३६.६ ओभरमा म्याब्राइनको बलमा क्याच आउट हुँदा नेपाल थप दवाबमा आयो।

त्यस्तै ३७.२ ओभरमै आक्रामक ब्याटिङ गरिरहेका कुशल मल्ल ठूलो सट खेल्ने सुरमा म्याकार्थीको बलमा ह्यारी टेक्टरबाट क्याचआउट भए।

नेपालले पहिलो विकेटका लागि २७ रनको साझेदारी बनाउँदा दोस्रो विकेटका लागि १७ रनको साझेदारी बनायो। त्यस्तै ५० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने बेलामा कप्तान पौडेलको विकेट गएको थियो। चौथो विकेटका लागि साउद र भीम सार्कीले १४ रनको साझेदारीमात्र बनाउन सके। पाँचौँ विकेटका लागि भीम र कुशलले ५९ रनको साझेदारी गरे। ३५.२ ओभरमा भीमको विकेट गुम्दा नेपालको स्कोरबोर्डमा १६२-५ को अवस्था थियो।

यसपछि पनि नेपालको ब्याटिङ धराशायी हुने क्रम रोकिएन। दीपेन्द्रसिंह ऐरी डकआउट हुँदा दवाबमा आएको नेपाललाई आक्रामक ब्याटिङ गरिरहेका कुशल मल्लको विकेटले थप दवाब बढायो।

तर, १६९-७ को अवस्थामा साझेदारी सुरु गरेका गुलसन झा र सन्दीप लामिछानेले नेपालको इनिङ्स उकासे। उनीहरुले ६७ बलमा ८० रनको साझेदारी गरे। लामिछाने ४८.३ ओभरमा ३० बलमा ३२ रन बनाएर मार्क अडायरको बलमा क्याचआउट भए। त्यसपछि आएका करण केसी अन्तिम ओभरको पहिलो बलमा अडायरकै बलमा ४ रनमा आउट हुँदा गुलसन झा ५७ रनमा अविजित रहे। उनले ४२ बलमा ४ चौका र ३ छक्काको सहायतामा ५७ रन बनाएका हुन्।

आयरल्याण्डको इनिङ्स

जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डले छैटौँ ओभरभित्रै दुई विकेट गुमाउँदा नेपालले सुरुमा दवाब सिर्जना गर्न सकेको थियो। तर, पहिलो विकेट ४.४ ओभरमा १७ रन बनाएका एण्डी म्याकब्रिनको करण केसीले लिए। त्यस्तै ५.३ ओभरमा १ रन बनाएका कप्तान एण्डी बलबिर्नीलाई किशोर महतोले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराए। त्यस्तै तेस्रो विकेटका रुपमा पउल स्ट्रलिङ १५ रन बनाएर गुलसन झाको बलमा बोल्ड आउट भए।

चौथो विकेटका लागि भने ह्यारी टेक्टर र लोरक्यान टकरले ५८ रनको साझेदारी गरे। २२.२ ओभरमा टकर २४ रन बनाएर करण केसीको बलमा एलबीडब्लु आउट भए। त्यस्तै ६० रन बनाएका टेक्टर २५.६ ‌ओभरमा सन्दीप लामिछानेको बलमा गुलसन झाबाट क्याच आउट भए।

छैटौँ विकेट तोड्न भने नेपालले संघर्ष गर्दा आयरल्याण्डले स्कोर उकास्ने अवसर पायो। कर्टिस क्याम्पर र जर्ज डकरेलले ८७ बलमा ८४ रनको साझेदारी गर्दै आयरल्याण्डको स्कोर उकासे। ६२ रन बनाएका क्याम्पेरलाई ४०.३ ओभरमा करण केसीले भीम सार्कीबाट क्याचआउट गराए। त्यस्तै डकरेललाई किशोर महतोले ४४.१ ओभरमा क्याचआउट गराए। आठौँ विकेट मार्क अडायरको ४८.५ ओभरमा करण केसीले लिए पनि नेपाली खेलाडीले सेलिब्रेसन गरेनन्। र, अन्तिम ४ बल बाँकी छँदा गुलसन झा को बलमा ब्यारी म्याकार्थीले चौका प्रहार गर्दै आयरल्याण्डको जित सुनिश्चित गरे।

योसँगै आयरल्याण्ड र नेपाल दुबैले जिम्बावेको विश्वकप छनोटमा सातौँ र आठौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन्। विश्वकपमा भने श्रीलंकाले स्थान पक्का गर्दा अर्को टोलीको टुंगो लाग्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell