PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

महँगियो धान र गहुँ, कति पुग्ला चामल र मैदाको मूल्य?



अनन्तराज न्यौपाने

महँगियो धान र गहुँ, कति पुग्ला चामल र मैदाको मूल्य?

विराटनगर : मध्य बर्खाका बेला धान र गहुँको मूल्य महँगिएको छ भने मकैको मूल्यमा मन्दी देखा परेको छ। गत वर्षको यही बेलाका तुलनामा धान र गहुँ महँगो र मकैमा मन्दी देखिएको हो।

किसानले आफूसँग भएको सबै धान र अधिकांश गहुँ बिक्री गरिसकेका अवस्थामा भारतका स्टकिस्टले एक्कासी धान र गहुँको मूल्यमा वृद्धि गरेको व्यवसायीको भनाइ छ। यो मूल्यवृद्धिले किसान अपेक्षित लाभबाट वञ्चित भएका छन् भने बिचौलिया र स्टकिस्टहरू फाइदामा पुगेका छन्।

स्वस्तिक राइस मिल्सका सञ्चालक श्रवण अग्रवालले भारतका स्टकिस्टले नै धान र गहुँको मूल्यमा वृद्धि गरेका कारण त्यसको असर नेपालको बजारमा परेको बताए। उद्यमी अग्रवालले जिरामसिनो धानका तुलनामा कान्छी मन्सुली र सोना मन्सुली जातका धान र तिनका चामलको मूल्यवृद्धि भएको जानकारी दिए।

अग्रवालका अनुसार भारतमै कान्छी र सोना धानको मूल्यवृद्धि हुँदा त्यहाँबाट यहाँ आयात गर्न सम्भव भइरहेको छैन। आयात गर्दा कान्छी धानकै लागत प्रतिकिलो ४० रुपैयाँ पर्छ। जबकि अहिले विराटनगरमा यो धानको कारोबार किलोको ३९ रुपैयाँमा भइरहेको छ।

चामलको खरिद-बिक्रीमा संलग्न सञ्जय रञ्जित कोठारीले अहिले कान्छी धानको कारोबार क्विन्टलको ३ हजार ९ सयमा भइरहेको उल्लेख गरे। व्यवसायी कोठारीले गत वर्ष यही बेला कान्छी धानको मूल्य क्विन्टलको २ हजार ९ सय भएको बताए।

कान्छी धानको मूल्यसँगसँगै चामलको मूल्य पनि बढेको छ। जितेन्द्र चामल लघु उद्योगका सञ्चालक जितु तापडियाले आफ्नो उद्योगले गत वर्ष यही बेला कान्छी धानको उसिना चामल किलोको ५१ रुपैयाँमा विक्री गरेकोमा यस वर्ष ६१ म बेचिरहेको बताए।

त्यस्तै, सोना मन्सुली धानको गत वर्ष यस बेलाको मूल्य किलोको ३० रुपैयाँ भएकोमा यस वर्ष ३९ रुपैयाँ पुगेको छ। यससँगसँगै सोना मन्सुली चामलमा पनि तेजी आएको छ।

उद्योगी तापडियाका अनुसार गत वर्ष यस बखत सोना मन्सुली चामलको मूल्य किलोको ५१ रुपैयाँ थियो। अहिले ६२ पुगेको छ।

भारतमा गत वर्ष धानको उत्पादनमा ह्रास आएको थियो। यही कारणले भारतले गत वर्षदेखि सोना मन्सुली र कान्छी मन्सुली जातका चामलको निर्यातलाई निरूत्साहन गर्दै २० प्रतिशत निर्यात शुल्क तोकेको छ।

यो चामल प्रायः निम्न वर्गको भान्सामा पाक्ने हुँदा भारतले आफ्ना बहुसंख्यक जनताको खाद्यसुरक्षालाई दृष्टिगत गर्दै चामलको निर्यातलाई २० प्रतिशत महँगो बनाएको हो। यसको असर नेपालको मूल्य-शृंखलामा परेको छ। निम्नमध्यम वर्गका भान्सामा पाक्ने जिरामसिनो धान र चामलको मूल्य भने सोना र कान्छी मन्सुलीका तुलनामा खासै बढेको छैन।

व्यवसायी श्रवणका अनुसार अहिले जिरामसिनो धानको किनबेच एक क्विन्टलको ४ हजार ८५० रुपैयाँमा भइरहेको छ। गत वर्ष यही बेला यही धानको कारोबार क्विन्टलको ४ हजार ५ सयमा भएको थियो।

राधाकृष्ण राइस मिलका सञ्चालक सुधीर तोदीले अहिले जिरामसिनो चामल किलोको ८४ रुपैयाँमा बिक्री भइरहेको बताए। गत वर्ष यही बेला किलोको ७६ रुपैयाँमा कारोबार भएको थियो। यस वर्ष गहुँको मूल्य पनि बढेको छ।

गत वर्ष भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा असारको मध्यमा किलोको ५५ रुपैयाँसम्म कारोबार भएको थियो। भारतले निर्यातमा प्रतिबन्ध नलगाएको भए यो दर ३४-३५ रुपैयाँमा सीमित हुने थियो भन्ने व्यवसायीको कथन छ।

भारतले गहुँ निर्यातमा गत वर्ष प्रतिबन्ध लगाएका कारण नेपालका मैदा उद्योगले तस्करीबाट आएको गहुँले काम चलाएका थिए। तर यस वर्ष भारतले नेपाललाई ३ लाख टन गहुँ दिने निर्णय गरिसकेको छ। त्यसैले गत वर्षको जस्तो भाउ आकासिँदैन भन्ने व्यवसायीले विश्वास गरेका छन्।

खाद्यान्न व्यवसायी श्रवणका अनुसार अहिले नेपालका उद्योगले स्टकिस्टसित प्रति क्विन्टल ४ हजार ३ सयदेखि ४ हजार ४ सयका दरले गहुँ खरिद गरिरहेका छन्। यो मूल्य भारतको मूल्यमा आधारित छ। भारतमा अहिले गहुँको कारोबार प्रति क्विन्टल ४ हजार रुपैयाँमा भइरहेको छ।

भारतीय गहुँ नेपाल ल्याइपुर्‍याउँदा ५ प्रतिशत कृषिसुधार शुल्क र २ प्रतिशत विविध गरी कुल ७ प्रतिशत थप खर्च लाग्छ। यसरी भारतबाट व्यवसायीका गोदाममा गहुँ आइपुग्दै क्विन्टलको ४ हजार २८० रुपैयाँ परिसकेको हुन्छ। यही गहुँको मूल्य अहिले क्विन्टलको ४ हजार ३ सयदेखि ४ हजार ४ सयसम्म भएको हो।

भारतमा यस वर्ष पनि गहुँको उत्पादनमा ह्रास आएको बताइएको छ। गहुँमा तेजी आउनुको कारण उत्पादन घट्नु पनि हो भन्ने व्यवसायीको भनाइ छ। यसबाहेक नेपाल र भारतका अधिकांश किसान गहुँ खेती छाडेर मकै खेतीतर्फ आकर्षित भएका छन्।

यसैबिच, यस वर्ष नेपाल र भारत दुबैतर्फ मकैको उत्पादनमा वृद्धि भएको बताइएको छ। तर दाना उद्योगको उत्पादन र विक्रीमा आएको मन्दीका कारणले गत वर्षका तुलनामा यस वर्ष दानाको कच्चा पदार्थ मकैको मूल्यमा ह्रास आएको छ।

‘मकैको अधिक उत्पादन तर दानाको उत्पादनमा ह्रास, यही कारणले मकैमा मन्दी आएको हो’, व्यवसायी श्रवणले भने, ‘गत वर्ष यति वेला मकैको कारोबार प्रति किलो ३८ रुपैयाँमा भएको थियो। अहिले ३१ रुपैयाँमा भइरहेको छ।’

उनले यस वर्ष नेपालमा नै उत्पादन राम्रो भएकाले भारतबाट मकैको आयात सुरु नभएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell