भजनी : कैलालीको भजनी नगरपालिका-१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ। गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ।
किसानलाई खेती जोगिँदा राहत भएपनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ। भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छन्।
उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन्। छ वर्षदेखि यही काममा लागेकी बोहराका अनुसार चौपायालाई पर्याप्त आहारा नहुँदा समस्या भएको छ।
‘गौशालाको अवस्था दयनीय छ, खानलाई आहारा छैन,’ उनले भनिन्।
बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन्। गर्मीको समयमा मलमूत्र व्यवस्थापन गर्न सहज भए पनि बर्सातमा भने कठिन हुने गरेको उनी बताउँछिन्।
‘चौपायाका लागि ट्रस्ट निर्माणको आवश्यकता छ, यसोगरे मलमूत्रको व्यवस्थापन गर्न सहज हुन्छ,’ बोहराले भनिन्।
सामुदायिक चौपायाको व्यवस्थापन गर्न समिति बनाइएको छ। त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ।
मलमूत्र व्यवस्थापन गर्न र गोठाला गरी सात जना गौशालामा कार्यरत छन्। उनीहरुको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ।
प्रतिव्यक्ति नौ हजार रुपैयाँका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन्। फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आएका छन्।
चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न मुस्किल हुने गरेको उनी बताउँछन्।
‘खानेकुरा केही छैन। भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ’, चौधरी भन्छन्, ‘चौपाया खान नपाएर मर्ने अवस्था छ।’
उनले आफूहरु पाँचजना गोठाला भएपनि चौपायाको चापले समस्या हुने गरेको बताए। चौपायाको आहाराका लागि नगरपालिकाले दुई लाख ६८ हजार रुपैयाँको पराल खरिद गरेको थियो।
त्यो पराल केही महिनामै सकियो। त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन्।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउँछन्। उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गर्छन्।
‘गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन्। ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो’, उनले भने, ‘समितिसित पर्याप्त पैसा छैन। थोरैले पुग्ने अवस्था छैन। त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन्।’
उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ। समितिले यसपटक गोबरबाट एक लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ।
अझै केही गोबर बिक्री गर्न बाँकी छ। प्रतिट्र्याक्टरको पाँच हजार रुपैयाँका दरले गोबर बिक्री हुन्छ। त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए।
व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाले सुरु गरेको गौशाला पछि उनीहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको हो। नगरपालिकाले वर्षमा १५ लाख रुपैयाँभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ।
भजनी नगरपालिकाको मात्रै होइन, कैलालीका अधिकांश स्थानीय तहमा गौशाला बनाइएका छन्। त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन।
निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनका नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन्। चौपाया व्यवस्थापन राम्रोसित गर्न नसकिएको स्थानीय रामप्रसाद शर्मा बताउँछन्।
उनले भने, ‘चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ। अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउँछ।’
टीकापुर नगरपालिकामा भने स्थानीय युवाले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन्। व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाले चौपायाको आहाराका लागि घाँस खेती सुरु गरेका छन्। रासस