PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आदिवासी युवकमाथि पिसाब गर्ने प्रवेश शुक्ला पक्राउ, पीडितलाई भिडियो नै 'फेक' भन्न दबाब दिइँदै



पहिलोपोस्ट

आदिवासी युवकमाथि पिसाब गर्ने प्रवेश शुक्ला पक्राउ, पीडितलाई भिडियो नै 'फेक' भन्न दबाब दिइँदै
तस्विर : एएनआइ

मंगलवार सामाजिक संजालमा एक व्यक्तिले अर्को व्यक्तिमाथि पिसाब गरिरहेको भिडियो भाइरल भयो। भारतको मध्य प्रदेशमा भएको सो घटनाको भिडियो फैलिएसँगै सो अमानवीय कार्यको आलोचना हुन थाल्यो।

प्रहरीमाथि दबाब बढेपछि आदिवासी युवकमाथि पिसाब गर्ने प्रवेश शुक्लालाई मध्यरातमा नै प्रहरीले पक्राउ गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले नै प्रहरीलाई शुक्लालाई पक्राउ गरेर कडा कारवाही गर्न निर्देशन दिएको बताए।

विपक्षी पार्टीहरुले पिसाब गर्ने प्रवेश भारतीय जनता पार्टीको कार्यकर्ता भएको दाबी गरिरहेका छन्। मुख्यमन्त्री शिवराजले भने अपराधीको कुनै जाति, धर्म वा पार्टी नहुने भन्दै प्रवेशलाई कडा कारवाही हुने स्पष्टीकरण दिएका छन्।

'हामी उसलाई कुनै पनि हालतमा छोड्ने छैनौं,' शिवराजले भनेका छन्।

प्रवेश शुक्ला भाजपा विधायक केदारनाथ शुक्लाका पूर्व प्रतिनिधि रहेको दाबी गरिएको छ। जसकारण विपक्षीले यो मुद्दालाई उठाइरहेको छ। भारतीय राष्ट्रिय कांग्रेसका नेताहरुले शुक्लाको भाजपाका नेतासँग खिचिएका तस्विरहरु 'सेयर' गरिरहेका छन्।

भाजपाले भने प्रवेश शुक्ला आफ्नो पार्टीमा संलग्न नरहेको दाबी गरेको छ। मध्यप्रदेशका भाजपा प्रवक्ता आशिष अग्रवालले आफ्नो पार्टी अभियुक्तमाथि कडा कारवाही हुनुपर्ने पक्षमा रहेको बताएका छन्। विधायक केदारनाथ शुक्लाले पनि पक्राउ परेका प्रवेश आफ्नो प्रतिनिधि नरहेको बताएका छन्। यद्यपि, उनले अभियुक्तलाई चिन्ने बताएका छन्। प्रवेश आफ्नै निर्वाचन क्षेत्रका बासिन्दा भएको र केही कार्यक्रममा आवतजावत भएकोले चिनेको उनले दाबी गरेका छन्।

मध्य प्रदेश कांग्रेसले भने केदारनाथ शुक्लाले झुटो बोलिरहेको आरोप लगाएका छन्। कांग्रेस प्रवक्ता अब्बास हसिफले भने, 'आदिवासीको अधिकारलाई झुटो भन्ने भाजपाका एक नेता आदिवासी गरिब व्यक्तिमाथि पिसाब गरिरहेका छन्। अति निन्दनीय कार्य।'

यता, प्रवेश शुक्लालाई पक्राउ गरेर प्रहरीले स्टेशनमा लगिरहेको भिडियो एएनआईले सार्वजनिक गरेको छ। सो भिडियोमा प्रवेशलाई प्रहरीले पक्राउ गरेको भनिए पनि सुरक्षा दिइरहेको जस्तो देखिएको भन्दै 'नेटिजन्स'हरुले प्रश्न उठाएका छन्। भिडियोमा भगवा रंगको कपडाले मुख छोपेर प्रवेश प्रहरी हिरासतमा गइरहेको देखिन्छ। प्रहरीले हाल शुक्लासँग घटनाबारे प्रश्न गरिरहेको छ। मध्य प्रदेशकी एएसपी अन्जुलता पटेलले सोध्पुछ र अनुसन्धानपछि शुक्लाविरुद्ध थप कारवाही हुने बताएकी छिन्।

 

मध्य प्रदेशमा भाजपा नेतृत्वको सरकार छ। त्यसैले पनि शुक्ला पनि कारवाही हुने कुरामा प्रश्न उठिरहेको छ। अहिले सामाजिक संजालमा पीडित आदिवासी युवकले प्रवेश शुक्ला निर्दोष रहेको भन्दै सो घटना नै नभएको 'एफिडेबिड' दिएको कुराहरु फैलाइँदै गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भिडियोमा प्रष्ट रुपमा पिसाब गरिरहेको देखिए पनि पीडित युवकलाई धम्की दिएर भिडियो नै 'फेक' भएको भन्न लगाइएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell