पोखरा : घरमा केटा माग्न गएपछि बेलमायाका परिवारले राजीखुशी थमाइदिए हात। उमेर पुगेकै थिएन। बिहे भएर घर पुग्दा पो थाहा पाइन् - कान्छी बनाएर भित्र्याएका रहेछन्। बिहे गरेर घर गएकाले समाजको डर, फर्किने बाटो बन्द।
तीनवटा सन्तानकी आमा बनिन् उनी। सबै छोरी। तर, छोरा नजन्माएको अपजस।
‘छोरा जन्माउन नसक्नेलाई कसले माया गर्छ?’ श्रीमान् त्यसै भन्थे।
जेठी श्रीमतीतिर छोरा थिए। त्यसैले उनीमाथि छोरा पाउन दबाब।
‘उतापट्टि बुढी पनि छिन्। छोरा पनि छन्। भित्रभित्र दबाब हुन्थ्यो छोरा पाउन। छोरीछोरी पाउनेलाई किन माया गर्ने भन्नुहुन्थ्यो,’ उनको स्वरमा गला भरिएको सुनियो।
मिजुरे कास्कीकी हुन् बेलमाया विक। गाउँमा खेतीकिसानी र मेलापातकै भर। आम्दानीको अरु स्रोत नाई। श्रीमान् हुँदा पनि घर व्यवहारको जिम्मा उनकै काँधमा। सहारा बनेनन् श्रीमान्, सन्तान हुर्काउँदा पनि।
तीन सन्तानलाई आफ्नै दु:खले हुर्काइन्। पढाइन्। जेठीको बिहे भइसक्यो। माइली र कान्छीलाई पढाइ खर्च जुटाउन काममै भौतारिरहन्छिन् अहिले पनि। उनीसँग पीडाको श्रृङ्लावद्ध घटना छन् र थोरै आशाका पनि।
बेलमाया विक।
कामका लागि भारत पुगेका उनका श्रीमान् एकाएक घर फर्किए। फर्किँदा बिरामीले गलेका थिए। उनको रोग सुन्दा बेलमाया झसङ्ग बनिन्। तर विमार श्रीमानको चुपचाप ख्याल राखिन्। श्रीमानले उनीसँग आफ्नो रोगबारे लुकाएका थिएनन्। तर, बेलमायाले चाहिँ अरुलाई भनिनन्।
एक दिन पानी लगाउन खेतमा पुगेका उनका श्रीमान् त्यहीँ लडे। मणिपाल अस्पताल पुर्याएपछि सबैलाई थाहा पाए विरामीको कारण - एचआईभी संक्रमण। त्यसको महिना दिनमै उनका श्रीमान् बिते। यो तिन वर्ष अगाडिको कुरा हो।
सँगै हुँदा सहारा बनेनन् उनी। मृत्यु हुँदा धेरैको छिछी दुरदुर। श्रीमानको मृत्युले विक्षिप्तमात्र बनाएन, धेरैको नजरमा हेयको पात्र बन्न पुगिन्। त्यसपछि थपियो बेलमायामाथि पीडा र लान्छनाका श्रृङ्खला।
‘यसलाई पनि एचआईभी छ, श्रीमान् भन्दा अघि मर्छे।’
‘यसलाई काम दिनुहुन्न अब।’
गाउँलेहरु यसैयसै भन्थे।
मेलापात गरेर दैनिकी चलाइरहेकी उनलाई गाउँलेले बोलाउन छाडे। सरसापट बन्द भयो।
बेलमाया विक
‘पैसा नहुने मसँग। गाउँका दिदीबहिनीले यससँग काम गर्न हुँदैन भन्न थाल्नुभयो। पैसा पनि दिन हुँदैन भन्नु हुन्थ्यो,’ नमीठो सम्झना पोखिन् उनले।
उनले आफूलाई सद्धे छु भन्ने प्रमाणित नगरी धरै पाइनन्।
‘ठिकै छ भन्ने ठानेँ। पछि मैले यहीँ गण्डकीमा गएर तीन पटक रिर्पोट लिएर गएँ,’ उनले सुनाइन्।
उपाय थिएन उनीसँग। सामान्य लेखपढ समेत नभएकी उनलाई रोगबारे सामान्य जानकारी थियो। सर्तकता अपनाएकी थिइन्। त्यसैले ढुक्क थिइन्। तर, समाजले बुझ्दैनथ्यो।
आँट गरेर गण्डकी अस्पताल आइन्। एचआइभीको परीक्षण गरिन्। र, देखाइन् गाउँलेलाई। तर सहजै मानेनन् देख्नेहरुले। तेस्रो पटक परीक्षण गरेको रिपोर्ट वडा अध्यक्षलाई अगाडि राखेर देखाइन्। अनि मात्र विश्वास गरे गाउँलेले।
त्यसपछि गाउँमा काम गर्न केही सहज भयो। सधैं पीडित भएर बस्नु भएन लाग्यो। त्यसैले खेती किसानी गरेर परिवार धानिरहेकी छिन्। छोरीलाई पढाउने इच्छा छ उनको। छोरी आर्थिक रुपमा आत्मनिर्भर भएको देख्न चाहन्छिन्।
‘भैँसी पाल्छु। तीनवटा छ। छोरछोरी पढाउन गाह्रो छ। तर, अहिले ठीक छु। पहिलाको दु:ख सम्झँदा रुन मन लाग्छ। बच्चाबच्चीलाई पढाउन पाए हुन्छ। कहाँसम्म पढाउन सक्छु खै? गाउँमा मास्टर बनाउन पाए पनि हुन्थ्यो,’ आशावादी सुनिइन् उनी।
+++
१७ वर्षको उमेरमा बिहे भयो पालुङटार गोरखाकी बिमला परियारको। बिहे गरेर श्रीमानसँगै भारत गइन् उनी पनि। वैवाहिक जीवन खुशीमा बित्दै थियो। भारत गएको केही वर्षपछि काखमा दुईवटा छोरी लिएर श्रीमानसँगै नेपाल फर्किइन्। उनलाई माइतमा छोडेपछि फेरि रोजगारीका लागि श्रीमान् भारत हानिए। त्यसपछि सम्पर्कमा छैनन् उनी।
बिमला परियार।
‘घरायसी झगडा कहिल्यै भएन। शंका गर्ने त्यस्तो केही थिएन। जे भन्यो त्यहीँ मान्ने। भेटघाटमा ल्यायो, म खुशी भएँ बाआमा भेट्न पाइयो भनेर। अनि बसियो। बालबच्चासँग आउँदा बाटोखर्च सकियो। माइतीबाट दिने स्थिति थिएन,’ उनले भनिन्।
फर्किने बाचा गरेर गएका उनी फर्केनन्।
‘ठिकै छ यहीँ बस म अलि महिना काम गर्छु खर्चसर्च जुटाएर आएर लिएर जाउँला भनेर गाको जान त। गएपछि सम्पर्क केही भएन,’ उनले भनिन्।
श्रीमानले छोड्दा काखमा दुई र चार वर्षकी नानी थिए। जन्मेको घर आएर बस्न थालेको चार महिनामा बाबा बिते। आर्थिक स्थिति कमजोर भएका कारण परिवार पाल्ने जिम्मेवारी उनमै आयो। श्रीमान् फर्किएलान् भन्ने आशामा घर सम्हाल्दै बाटो कुरिरहिन्। तर, आएनन्।
श्रीमानको साथ छुट्दा ज्यान फाल्ने सोचसम्म आयो उनमा। उनै दुई सन्तानको मुहार हेरेर बसिन् उनी।
‘बच्चा हुर्काएँ, बढाएँ, पढाएँ। आमाले बच्चा हेर्दिने। कस्तो अभागी? कोही नभएको जस्तो हुन्थ्यो। एउटा छोरी माइत आएर बसी भन्ने कुरा हुनी। मर्न पाए जस्तो लाग्ने। फेरि बच्चाबच्ची छोड्न नसकिने,’ गला भारी पार्दै भनिन्।
ज्यालादारी गरेर छोराछोरी हुर्काएकी छिन् उनले। ठूली छोरीलाई सानै उमेरमा विवाह गराइन्। पढ्नमा अब्बल कान्छी भने इन्जिनियरिङ पढ्दै छिन् अहिले।
बिमला परियार।
‘ज्यालादारी नै गरेँ। अहिलेसम्म पनि त्यही गर्दैछु। घर बनाउने गाउँघरतिर। पैसा पनि त्यति नहुने। ठूली छोरी बिहे गरी। कान्छी इन्जिनियरिङ पढ्दैछे काठमाडौं। ब्याचलर पढ्छे,’ उनले भनिन्।
ज्यालादारी गरेर छोरीलाई इन्जिनियरिङ पढाउँछु भन्ने उनले सोचेकी थिइनन् उनले। एसएलसीसम्म मात्र पढाउने सोच थियो। तर कान्छीले एसएलसीमा जिल्लामा उत्कृष्ट आइन्। वडाले सम्मान गर्यो। त्यसरी १२ सम्म पढ्ने बाटो मिलेको थियो उनलाई।
‘छोरीलाई मैलै एसएलसी मात्र पढाउँछ भनेथेँ। फेरि जिल्ला टप गरी। वडाले जिल्ला टप गरेसी पुरस्कार दिँदो रै'छ। यताउति गरेर ११/१२ बस्न खान पढ्न सबै नि:शुल्क भयो,’ उनले भनिन्।
१० कक्षासम्म पढाउने सोच उनको। आफ्नै मिहिनेतले १२ सम्म पढ्नी। त्यसपछिको पढाईमा पनि बिमलाको ध्यान थिएनन्। तर, छोरीले काठमाडौंको एक इन्जिनियरिङ क्याम्पसमा नाम निकालिन्।
‘११/१२ पढी। फेरि राम्रै नम्बर आयो। पढाउन होस्टल खर्च यताउता गाह्रो भ'छ। स्कुलमा पढ्न सामग्री के-के गरेर १५ हजार महिनामा पठाउन पर्छ’, उनले दुखेसो पोखिन्, ‘काम गरेर दिनको ७ सय दिन्छन्। नभए ६ सय दिन्छ। महिनाभरि पनि हुँदैन। दुई ठाउँमा भान्छा भएर धेरै गाह्रो छ।’
+++
संकटकालमा श्रीमान् गुमाइन् गोरखाकी लक्ष्मी कँडेलले। काखमा एउटा छोरी र दुईवटा छोरा छोडेर बिदा भए श्रीमान्। आय थोरै भए पनि श्रीमान् काठमाडौंमा जागिरे थिए।
गाउँमा तीन सन्तान लिएर आरामसँगै बसेकी थिइन् उनी। तर, अप्रत्याशित घटनाले उनको संसारमा आँधी चल्यो। त्यसले उनको सपना भत्काएर गयो। भत्किएका सपनासँगै हार नमानेकी होइनन् लक्ष्मीले।
काखमा भएका तीन सन्तानको मायाले जित्यो। वियोगको घाउमा मलम लगाउन समय पनि पाइनन् उनले।
‘यी मेरा छोरछोरी अब क्यार्ने?,’ यही चिन्ताले खेद्यो उनलाई। सन्तानको चिन्ता बाहेक अन्य समस्यासँग पनि जुध्न बाँकी नै थियो। श्रीमान् नभएपछि समाजमा विभेद भोग्न बाध्य भइन्।
लक्ष्मी कँडेल।
‘श्रीमान् हुँदा कसैले केही भन्दैनथे। बुढाले कमाएछ, छोरछोरी पालेछ, बसेछ। बितेपछि यो आइमाई छोडेर जान्छे, ३० वर्ष पुगिछैन भन्ने। यस्सो कतै गयो, कोही साइत पारेर निस्केछ भने 'ए साइत पर्दैन विधुवा आइमाई देखियो' भन्ने। यस्तो चित्त दुख्थ्यो,’ उनले भनिन्।
समाजको सोचसँग लडेर अघि बढिन् लक्ष्मी। उनलाई साथ दिए जन्मघरकाले पनि।
‘चारतिरबाट नराम्रो भन्थे। तर मेरो माइतीले साथ दिनुहुन्थ्यो न डगमगा है भनेर। अंश दिनुभयो माइतीले। मैले मेरो छोरीलाई पनि अंश दिएको छु। माइतीले गर्दा पनि आँट आयो,’ उनले सुनाइन्।
मेलामात गरेर सन्तान हुर्काएकी उनले कति रात भोकै बस्नुपर्यो। उनको दु:खमा सन्तानले साथ दिए। तीन वटैलाई उच्च शिक्षा दिलाउने बाटोमा हिँडाइन्। छात्रवृत्तिमा पढ्न सके उनीहरु पनि। अहिले उनको समय फिरेको छ। दु:ख गरेर हुर्काएका सन्तान बुझ्ने भएका छन्। तर पनि कहिलेकाहीँ श्रीमान नभएकै कारण समाजले नराम्रो व्यवहार गर्छ उनलाई। आजकल त छोराछोरीले आमाको साथ दिने भएका छन्। त्यसैले समाजले नलगा भनेको रातो चुरा लगाएर हिँड्छिन् उनी।
‘मैले रातो कपडा लगाउँदा यसलाई वैश आयो भने कतिले। पछि मेरो छोराले दशैंको टीकाको दिनमा चुरा लगाउनुस् चुरा नलगाई म त टिका लगाउन्न भनेर उठेर हिँड्यो। अहिले म चुरा पोते लगाउँछु। सिर्फ एउटा सिन्दुर लगाउँदिन,’ उनले भनिन्।
+++
जीवनभर साथ दिन्छु भन्नेहरुनै दोबाटोमा अलग्गिएपछि खाएको हण्डर र संघर्षका केही उदाहरण हुन् यी कथा। सामाजिक संरचनाका कारण आर्थिक रुपमा सवल बन्न नसकिरहेका महिलाको ठक्करको कथा धेरै छन्। यिनीहरुले केहीलाई प्रतिनिधित्व गर्छन्।
प्रतिनिधित्व गर्न नसकेका कैयन कथा लेखिएका छैनन्। आफ्नो अस्तित्व रक्षाका लागि आत्मनिर्भर बनेर समाजसँग लडिरहेका यिनीहरु चाहिँ आशापूर्ण जीवनका प्रतिनिधि पात्र मात्रै हुन्। देशको शासकीय व्यवस्थामा परिवर्तन आए पनि एकल महिलाले भोग्नुपर्ने सास्ती र हेलाहोँचोको पहाड अहिले पनि अग्लिरहेको छ।
जे होस्, बेलमाया, लक्ष्मी र बिमलाको आँटले समाजमा कही न कही त प्रभाव छोडेको छ। कसैले उनीहरुको कथा सुने भने संघर्ष गर्ने पक्कै हार्ने छैनन्।