PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको प्रचण्डको अभिव्यक्तिप्रति एमाले आक्रामक



पहिलोपोस्ट

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको प्रचण्डको अभिव्यक्तिप्रति एमाले आक्रामक
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आक्रोशित भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको भन्दै दिएको अभिव्यक्तिको एमालेले विरोध गर्ने भएको हो।

बुधवारको प्रतिनिधि सभाको बैठक बस्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई बैठकमा बोलाएका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा रहेको ल्होत्से हलमा ओलीले सांसदलाई साढे १ बजेका लागि बोलाएको सचेतक महेश बर्तौलाले जानकारी दिए। 'प्रधानमन्त्रीको अभिव्यक्ति लगायतका विषयमा बैठक बस्छ,' उनले भने। 

के भनेका थिए प्रचण्डले?

सोमवार सिंहकी छोरी किरण दीप सन्धुले लेखेको 'रोड्स टु द भ्याली' पुस्तकको विमोचन गर्न प्रचण्ड याक एन्ड यती पुगेका थिए। उनले सिंहको प्रशांसा गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनले खेलेको भूमिकालाई सम्झिएका थिए। तर प्रचण्डको उक्त अभिव्यक्ति विवादमा पर्‍यो।

प्रचण्डले सिंहले नेपालको व्यवसायीक क्षेत्रमा खेलेको योगदानको पनि चर्चा गरेका थिए। उनले सिंह व्यवसायीमात्रै नभएर नेताहरुलाई मिलाउने भूमिका निर्वाह गर्नमा पनि सिपालु भएको बताएका थिए। 'उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो धेरैचोटी दिल्ली जानुभयो,' प्रचण्डले भनेका थिए,' काठमाडौंका नेता र पार्टीसँग पनि छलफल गर्नुभयो। उहाँको राजनीति सफल भयो भनेमात्रै देशको विकास हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ।' सिंहसँग माओवादी केन्द्रकी नेता  पम्फा भुसाल निकट रहेको पनि प्रचण्डले बताए।

को हुन् सिंह?

भारतका प्रितम पेशाले पाइलट हुन्।  ७० वर्ष पहिला नै उनी नेपाल आए।  ६ चक्के ३ ट्रक लिएर नेपाल आएका प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोले। प्रितमको नेपालसँगको नाता जोडिएको विषय रोचक छ। किनभने प्रितमको बुबा सरदार कहनसिंह जम्बुका पहिलो यातायात व्यवसायी थिए। प्रितम घुम्नका लागि नेपाल आए। उनले नेपालका बारेमा आफ्ना बुबालाई नेपालको सडक र व्यवसायिक सम्भावनाका बारेमा जानकारी गराए। त्यसपछि बुबा कहनले फेरि नेपाल गएर व्यवसायिक अवस्थाका बारेमा बुझ्न प्रितमलाई पठाए। उनी न्युरोडमा घुमिरहेका बेला पाइलट तालिम गरेका त्रिलोचनसिंह दुलटलाई भेटे। दुलटले राजा महेन्द्रसँग भेट गराइदिए।

त्यसको केही समयपछि राजा महेन्द्र जम्बुको अमरनाथ यात्रामा दोस्रो भेटमा नेपालमा व्यवसाय गर्न प्रितमलाई आग्रह गरेका थिए। त्यही प्रस्तावपछि प्रितम नेपाल आएर व्यवसाय सुरु गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell