PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

यी दुई एसोसिएट टोलीमध्ये विश्वकप खेल्ने को? जिम्बावे, वेस्टइन्डिज र आइरल्यान्डको हालत भने नेपालकै जस्तो



पहिलोपोस्ट

यी दुई एसोसिएट टोलीमध्ये विश्वकप खेल्ने को? जिम्बावे, वेस्टइन्डिज र आइरल्यान्डको हालत भने नेपालकै जस्तो

काठमाडौं : अक्टोबर ५ बाट भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ। विश्वकपका लागि ९ टोलीको टुंगो लागिसक्दा अबमात्र एक टोलीको टुंगो लाग्न बाँकी छ।

सुपर लिगको शीर्ष आठमा रहँदै आठ टोलीले विश्वकपमा स्थान पक्का गरेका थिए भने बाँकी दुई टोलीले जिम्बावेमा विश्वकपको छनोट खेलिरहेका छन्। जिम्बावेबाट श्रीलंकाले पनि प्रभावशाली प्रदर्शन गर्दै विश्वकपमा स्थान पक्का गरिसकेको छ। यो छनोट खेल्न पुगेका नेपालसहित सात टोली बाहिरिसक्दा अब दुई टोलीमध्ये एकले विश्वकपमा स्थान बनाउने समीकरण छ।

विश्वकपमा स्थान बनाइसकेका ९ टोलीमा भारत, पाकिस्तान, इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन्। विश्वकपको उद्घाटन खेलमा ५ ‌अक्टोबरमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भिड्नेछन्। चिर प्रतिस्पर्धी भारत र पाकिस्तानबीचको खेल पनि यही स्टेडियममा अक्टोबर १५ मा हुनेछ। प्रतियोगिताको फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा नोभेम्बर १९ मा हुनेछ।

तीन टेस्ट टोली विश्वकप बाहिर

जिम्बावेमा भएको छनोटबाट तीन टेस्ट मान्यता पाएका टोली बाहिरिएका छन्। जसमा सबैभन्दा ठूलो नाम रहेको छ वेस्ट इण्डिजको।

एकदिवसीय वरीयतामा १० औँ स्थानमा रहेको वेस्ट इण्डिज दुई पटकको एकदिवसीय विश्वकपको विजेतासमेत हो। समूह 'ए' बाट तेस्रो हुँदै सुपरसिक्समा पुगे पनि वेस्टइन्डिजले विश्वकपमा स्थान बनाउन सकेन। यसक्रममा दुई एसोसिएट राष्ट्र नेदरल्याण्ड्स र स्कटल्याण्डसँग पराजित हुन पुग्यो। त्यस्तै अर्को टेस्ट राष्ट्र जिम्बावेसँग पनि पराजय ब्यहोरेको वेस्ट इण्डिजले नेपाल र अमेरिकालाई भने हराएको थियो।

त्यस्तै आइसीसी वरीयतामा ११ औँ स्थानमा रहेको जिम्बावे घरेलु मैदानमा भएको विश्वकप छनोटबाट आफूलाई शीर्ष दुईमा पुर्‍याउन सकेन। विश्वकप छनोटका खेलमा ओमन, नेपाल, अमेरिका, नेदरल्याण्ड्स र वेस्टइन्डिजलाई हराएको जिम्बावेले श्रीलंका र स्कटल्याण्डसँग पराजित हुन पुग्यो।

त्यस्तै अर्को टेस्ट मान्यता पाएको आयरल्याण्ड भने सुपर सिक्समै पुग्न सकेन। समूह चरणको खेलमा ओमन, स्कटल्याण्ड र श्रीलंकासँग पराजित हुँदा यूएईलाई हराएको आयरल्याण्ड समूहको चौथो स्थानमा रहँदै सुपरसिक्समा पुग्न असफल रह्यो। प्लेअफको खेलमा अमेरिका र नेपाललाई हराउँदै प्रतियोगिताको सातौँ स्थानमा रहेर चित्त बुझायो। नेपाल यो प्रतियोगिताको आठौँ स्थानमा रह्यो।

एक एसोसिएट विश्वकपमा पक्का

विश्वकप छनोटबाट तीन टेस्ट मान्यता पाएका राष्ट्र बाहिरिँदा एक एसोसिएट टोलीले विश्वकप खेल्ने पक्का भएको छ। बिहीवार जिम्बावेमा स्कटल्याण्ड र नेदरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। जसमा स्कटल्याण्डले जित स्वत विश्वकपमा छनोट हुनेछ भने नेदरल्याण्डले जिते रनरेटले विश्वकप पुग्ने टोलीको टुंगो लाग्नेछ। समान ४ खेल खेल्दा स्कटल्याण्डको ६ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ।

त्यसो भए एक एसोसिएटले विश्वकपमा स्थान बनाउनु को अर्थ के? नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले ट्वीटरमा वेस्ट इण्डिज क्रिकेटको सबै क्रिकेट क्षेत्रमा चर्चा भइरहँदा यसबाहेकका क्रिकेटरहरुबारे पनि शब्द खर्चनु पर्ने 'आशा' लिएको उल्लेख गरेका छन्।

'यस वर्षको विश्वकप छनोटले एसोसिएट स्तरमा क्रिकेटको स्तर वृद्धि भएको देखाएको छ,' खड्काले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell