
काठमाडौं : प्रतिनिधि सभाको बुधवारको बैठक सुरु हुनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) खनियो। प्रचण्डले सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा भनेका थिए - प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनुभयो। यही अभिव्यक्तिलाई समातेर एमाले आक्रोशितमात्रै भएन प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्नै नदिने अडानमा छ।
आजै राष्ट्रिय सभाको बैठकमा पनि एमालेले राजीनामा मागेर बैठक अवरोध गरेको थियो। प्रतिनिधि सभाको बैठकमा एमालेले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद रघुजी पन्तलाई बोल्ने समय दिए। त्यतिन्जेल एमालेका सांसदहरु पनि बसे।
तर उनले बोलिसकेपछि दैनिक कार्यसूचीमा सभामुखले बैठक प्रवेश गराएपछि एमाले झनै आक्रोशित बन्यो। एमालेको विरोधका बाबजुद घिमिरेले माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङलाई बोल्ने समय दिए। तामाङलाई बोल्न दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि एमालेकै कित्तामा उभिए। उनले बोलिरहेका बेला पनि सभामुख घिमिरेले बैठकमा सांसदहरुलाई बस्न र पालैपालो बोल्न अनुरोध गरिरहे। सभामुख कतिसम्म हडबडाका थिए भने उनले तामाङको नाम समेत राम्ररी उच्चारण गर्न सकिरहेका थिएनन्। उनले छिरिङलाई पासाङ ल्हामो भनेका थिए। सभामुखले सचिवालयका कर्मचारीलाई बोलाएर केहिबेर कानेखुसी गरेपछि भने बोलिरहेको सांसदाई वास्तै नगरी सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरे।