PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित



पहिलोपोस्ट

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

बुटवलः लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको बुधबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो। सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो। जसकारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो। मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भएको वार्तापछि संसद बैठक सुचारु भएको थियो।

आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषण गरे।

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको बताए। आर्थिक मामिला मन्त्री मास्कीले पनि यस वर्ष बजेटमा देखिएका समस्या आगामी वर्षमा सुधार गर्दै जाने बताए।

सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार थियो।  त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ।

बजेटमा आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया हुने अनुमान गरिएको छ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell