PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वाचा भुल्दा फसेका प्रचण्ड, अरूले होइन आफैँले गरिरहेका छन् विवादको बीजारोपण



प्रकाश भण्डारी

वाचा भुल्दा फसेका प्रचण्ड, अरूले होइन आफैँले गरिरहेका छन् विवादको बीजारोपण

काठमाडौं: पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको ६ दिनमा वाचा गरे -भाषण कम, काम धेरै गर्छु। तर, ६ महिने कार्यकाल ठिक उल्टो छ -भाषण ज्यादा, काम कम। अझ उनी विवादै विवादको भुमरीमा परे। कारण अरू होइन, आफ्नै फुक्काफाल बोली। सोमबारको घटना पनि यस्तै बन्न पुग्यो।

व्यवसायी प्रितम सिंहकी छोरी किरण दिप सिन्धुले लेखेको 'रोड्स टु द भ्याली' पुस्तकको विमोचन गर्न प्रचण्ड याक एन्ड यती पुगे सोमबार। प्रितमको योगदानबारे बखान गर्न पुगेका प्रचण्डले मुख खोले -प्रधानमन्त्री बन्न गरेको गृहकार्य। २०७२ मा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिंह सक्रिय रहे। उनले दिल्ली र नेपाल धाए प्रचण्डलाई प्रधानमन्त्री बनाउन।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो धेरैचोटी दिल्ली जानुभयो,' प्रचण्डले हौसिएर भनेका थिए।

प्रितम दिल्ली धाएको अभिव्यक्ति अहिले प्रचण्डका लागि गलपासो बनेको छ। उनी बुधबार डिफेन्सिभ सुनिए।

'बोलेको केही पनि छैन। बोलेको यो पुस्तकमा जसको बारेमा चर्चा छ। उनले अरूका ट्रक र बस चलाउने मात्रै काम गर्दैनन् पोलिटिक्समा पनि चासो राख्छन् भनेको हो,’ प्रचण्डले आफ्नै बचाउमा भने।

प्रचण्डको अभिव्यक्तिले कतिसम्म ‘ब्याक फायर’ गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले उनको प्रधानमन्त्री पदको निरन्तरतामाथि प्रश्न उठाइदिएको छ।

‘प्रधानमन्त्रीले राजनीतिक र कानुनी आधार गुमाइसक्नुभयो। यो जवाफ दिएर मात्रै पुरा हुने विषय होइन। प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ नभए संसद् चल्न सक्दैन,’ एमालेका सचेतक महेश बर्तौलाले भने।

प्रचण्ड प्रधानमन्त्री भएको ६ महिनापछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रचण्डको राजीनामालाई ‘बटमलाइन’ बनाएको छ। यसअघि सरकारको चर्को विरोध गर्ने गरेको भए पनि राजीनामा मागेर एमालेले सदन अवरोध गरेको थिएन। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्ड विरुद्ध आक्रामक प्रतिक्रिया दिएका थिए।

‘संसदमाथि संविधानमाथि उहाँले घोर अपमान गर्नुभएको छ। हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिन्छ,’ ओलीको आक्रोश थियो।

प्रचण्ड आफ्नै बोलीले फसेका घटना नौलो भने होइन। भारत भ्रमणका क्रममा उनले जेठ १९ मा भारतको उज्जैनमा रहेको महाकालेश्वरमा गेरु वस्त्र लगाएर पूजा गरे। त्यसको बचाउका लागि बोल्दा पनि प्रचण्ड विवादमा परे।

'कतिपयलाई गेरु वस्त्र लगाएर कमण्डलु लगाएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्यो होला। तर म हिड्नेवाला छैन। यसलाई सांस्कृतिक रूपमा बुझ्दिनुपर्‍यो,' धर्मनिरपेक्षतावादी भएको प्रतिक्रिया प्रचण्डले स्वदेश फर्कने बेला जेठ २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै बचाउ गर्नुपर्‍यो।

उनका विवादित बोलीको श्रृङखला प्रधानमन्त्री भएका बेलामा मात्रै आएको भने होइन। शान्तिपूर्ण राजीनितिमा आएदेखि नै प्रचण्ड कुनै न कुनै विवादमा परिरहन्छन्। माओवादी लडाकु सङ्ख्याबारे २०६४ पुस शक्तिखोर शिविरमा दिएको अभिव्यक्ति पनि विवादित बन्यो।

‘हामी ७-८ हजारको बिचमा पुगिसकेका थियौँ। ३५ हजार लगेर राखिदिएको, यो हो नि साँचो कुरा। अरूलाई पो हामीले भन्नुहुँदैन,’ प्रचण्डले लडाकुबारे दिएको अभिव्यक्तिको भिडियो क्लिप विवादित बनेको थियो।

प्रचण्डले २०७६ को माघीमा पनि यस्तो विवादित अभिव्यक्ति दिए। युद्धका बेलामा मारिएका मध्ये ५ हजारको जिम्मा लिने प्रचण्डको बोली विवादमा पर्‍यो। जसले उनलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बन्दा पनि झस्काइरहेको छ। उनलाई युद्धकालका विषयमा पूर्वमाओवादीलाई एक ठाउँमा उभ्याउने गरेका छन्।

‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्याङ्क मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भनेका थिए।

२०७६ असार ११ गते चितवनको भरतपुर महानगरको नगर सभामा पनि नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई लक्षित गरेर प्रचण्डले दिएको अभिव्यक्ति पनि विवादित बनेको थियो।

विप्लवलाई उद्धृत गर्दै प्रचण्डले भनेका थिए ,‘कमरेड तपाईँले हामीलाई काठमाडौँ त लिएर आउनुभयो। तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको एउटा भर्खरकी चाहिँ तामाङनी केटीलाई काठमाडौँ लगेर म लगेर बिहे गर्छु भनेर बम्बई पुर्‍याए जस्तो फिल भयो,' उनको यो अभिव्यक्तिले तामाङ समुदाय आन्दोलित नै भयो।

२०७५ माघ ११ मा भेनेजुएला प्रकरणमा सरकारको कुनै धारणा नआएका बेला प्रचण्डले विज्ञप्ति जारी गरिहाले। पछि पार्टीले पनि उनकै लाइनमा विज्ञप्ति जारी गरेको थियो। त्यो बेला भेनेजुएलामा राष्ट्रपति परिवर्तनका विषयमा रुस र अमेरिका दुई खेमामा विभाजित भएका थिए। उनले रुसको खेमामा उभिँदै भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गरे। उनले विज्ञप्तिमा लेखेका थिए, 'अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुएलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो। प्रचण्डको यो अभिव्यक्ति पनि देश भित्र मात्रै नभई विदेशमा समेत विवादित बन्न पुग्यो।’ प्रचण्ड पहिलो र दोस्रो प्रधानमन्त्री कालमा नराम्ररी विवादमा फसेका थिए। तत्कालीन सेनापतिलाई हटाउने र पशुपतिको पुजारी हटाउने विवादित निर्णयका कारण प्रचण्डको पद नै गएको थियो।

पहिलो र दोस्रो कार्यकालमा भएका विवादलाई सम्झिएर पश्चाताप गर्ने प्रचण्ड यस कार्यकालमा कति विवादमा फस्ने हुन् र पश्चाताप गर्ने हुन् त्यसबारे भने अहिले नै भन्न सकिने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell