PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली टोलीले जिम्बावेमा बनायो १ हजार ३५९ रन, बलिङ र साझेदारीमा कस्तो रह्यो ‘पर्फर्मेन्स’?



मुकुन्द घिमिरे

नेपाली टोलीले जिम्बावेमा बनायो १ हजार ३५९ रन, बलिङ र साझेदारीमा कस्तो रह्यो ‘पर्फर्मेन्स’?

काठमाडौं : विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले ८औँ बन्दै प्रतियोगितामा आफ्नो यात्रा टुंगाइसकेको छ। विश्वकप छनोटमा नेपालले कूल ६ खेल खेलेर २ जित र चार हार ब्यहोर्‍यो।

नेपालले जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड र आयरल्याण्डसँग पराजय ब्यहोर्दा यूएई र अमेरिकालाई हराउन सफल भयो। ६ खेल खेल्दा कुल १ हजार ३५९ रन बनाएको नेपालले सबैभन्दा ठूलो स्कोर जिम्बावेविरुद्ध २९० रन बनायो। त्यस्तै, सानो स्कोर नेदरल्याण्ड्स विरुद्ध १६७ रन बनायो।

ब्याटिङतर्फ कस्तो प्रदर्शन?

जिम्बावेमा ६ खेल खेल्दा नेपाली टोलीले १३६२ रन बनायो। नेपालका लागि सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान कुशल भुर्तेल रहे। उनले २१३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६३ रन बनाए। यो सूचीमा रोहितकुमार पौडेल तेस्रो, गुलसन झा चौथो र भीम सार्की पाँचौं स्थानमा छन्।

ब्याटिङ साझेदारीमा पनि कुशल भुर्तेल र आशिफ शेख सबैभन्दा माथि रहे। जिम्बावेविरुद्ध उनीहरुले पहिलो विकेटका लागि १७१ रनको साझेदारी बनाएका थिए।

त्यस्तै, दोस्रो ठूलो साझेदारी सन्दीप लामिछाने र गुलसन झाले आयरल्याण्ड विरुद्ध बनाए। उनीहरुले ८० रनको साझेदारी बनाउँदा तेस्रो ठूलो साझेदारी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले यूएई विरुद्धको खेलमा बनाए। उनीहरुले ७९ रनको साझेदारी बनाए।

त्यसबाहेक रोहित पौडेल र कुशल मल्लको जिम्बावेविरुद्धको ७७ रनको र आरिफ शेख र गुलसन झाको वेस्ट इण्डिजविरुद्धको ६८ रनको साझेदारी महत्वपूर्ण रह्यो।

 

यो प्रतियोगिता भर नेपाली टोलीका कुनै पनि ब्याट्सम्यानले शतक भने बनाउन सकेनन्।

 

कस्तो बलिङ?

जिम्बावेमा स्पीनरको जादु नचल्दा नेपालको बलिङ आक्रमण दबाबमा पर्‍यो। नेपालको तर्फबाट करण केसीले सर्वाधिक १२ विकेट लिए। त्यसपछि गुलसन झाले ८, सन्दीप लामिछानेले ७, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले ४ तथा किशोर महतोले २ विकेट लिए।

खासगरि जिम्बावे र वेस्ट इण्डिज विरुद्धको खेलमा नेपाली बलरले विपक्षीको साझेदारी तोड्न नसक्दा खेल गुमाएका थिए। जिम्बावेका क्राइग इरभिन र सिनविलियम्सले १२५ बलमा अविजित १६४ विकेटको साझेदारी बनाएका थिए। दुवैले शतक प्रहार गर्दा नेपालले दिएको २९० रनको लक्ष्य पछ्याउन सफल भएका थिए।

 

त्यस्तै वेस्ट इण्डिज विरुद्धको खेलमा नेपालले साझेदारी तोड्न सकेन र फिल्डिङमा पनि कमजोरी देखियो। नेपालले राम्रो सुरुवात गरे पनि मध्यक्रममा वेस्ट इण्डिजका निकोलस पुरन र साइ होपले १७२ बलमै २१६ रनको साझेदारी बनाउँदै वेस्ट इण्डिजको इनिङ्स उकास्दा नेपालको बलिङ आक्रमण निरिह बनेको थियो।

नेपालका अनुभवी बलर सोमपाल कामीले पहिलो खेलबाट चोट बोक्दा नेपाली बलिङ अर्डरमा थप दबाब परेको थियो।

 

पहिलो पटक टेस्ट प्रतिस्पर्धी

जिम्बावेमा पहिलो पटक नेपालले टेस्ट मान्यता पाएका टोलीसँग खेल्ने अवसर पायो। विश्वकप छनोटका क्रममा जिम्बावे, वेस्ट इण्डिज र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दा कुनै खेलमा जित भने निकाल्न सकेनन्।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले त धेरै नेपाली खेलाडीले टेस्ट राष्ट्रका खेलाडी खेलेको टीभीमा मात्र देखेको प्रतिक्रिया दिएका थिए।

खेलपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले वेस्टइण्डिजसँग खेल्न पाउँदा नेपाली खेलाडीले राम्रो अनुभव लिने अवसर पाएको बताए।

 

‘हामीसँग टिममा सन्दीप लामिछानेमात्र यस्ता खेलाडी थिए, जसले विश्वभरका लिग खेलेका थिए र वेस्ट इण्डिजका केही खेलाडीसँग खेलेका थिए’, उनले भने, ‘बाँकी अधिकांशले वेस्ट इण्डिजका खेलाडीलाई टेलिभिजनमा मात्र देखेका थिए। उनीहरुका लागि वेस्ट इण्डिजविरुद्ध मैदानमा उत्रनु नै पनि गौरवको क्षण थियो।’

 

एक रनले शतक चुक्यो, दुई रनले अर्धशतक

जिम्बावेविरुद्धको खेलमा कुशल भुर्तेल ‘नर्भस नाइन्टी’को सिकार हुन पुगे। शतक पुर्‍याउनु पर्ने बलमा उनी बोल्डआउट हुन पुक्दा नेपाललाई धक्का लागेको थियो।

घरेलु टोली जिम्बावेविरुद्धको खेलमा उनी ३१.५ ओभरमा १३ चौका र २ छक्काको सहायतामा ९९ रन बनाएर विलिङटन मासाकाट्जाको बलमा आउट भएका थिए।

त्यस्तै अवस्था अर्जुन साउदको पनि रह्यो। आयरल्याण्डविरुद्धको खेलमा ओपनर साउद ८४ बलमा ४८ रन बनाउँदै एलबीडब्लु आउट भएका थिए। उनी आउट भएपछि नेपालको विकेट पतनको श्रृङ्खला लम्बिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell