PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

यी पुराना गीत जो टिकटकबाट फेरि एक पटक चर्चामा आए



लक्ष्मी बलायर

यी पुराना गीत जो टिकटकबाट फेरि एक पटक चर्चामा आए

काठमाडौं : अठार वर्षअघि रेकर्ड गरिएको ‘बादल वर्षा बिजुली’ गीत एक महिनादेखि टिकटकमा भाइरल छ। विशेषगरी युवतीहरुले यसै गीतमा ‘लिपसिङ’ गरेर टिकटक बनाउन थालेसँगै गीतको चर्चा चुलिएको हो।

२०६२ सालमा रिलिज भएको फिल्म ‘कर्तव्य’मा समावेश यस गीतमा प्राश्ना शाक्य र आनन्द कार्कीको स्वर छ। करुण थापाको शब्द रहेको गीतमा सचिन सिंहले संगीत भरेका छन्।

नारायण पुरी निर्देशित उक्त फिल्ममा राजेश हमाल, दिलीप रायमाझी, निखिल उप्रेती, निरुता सिंह र सज्जा मैनालीको अभिनय छ। दिलीप र सज्जाले कम्मर मर्काएको ‘बादल वर्षा बिजुली’ गीत टिकटककै कारण पुनः एक पटक हिट बनेको छ। डान्सिङ प्याटर्नको यस गीतमा ५ लाख ४२ हजार टिकटक बनिसकेका छन्।

छोटो समयमै टिकटक युवादेखि पाका पुस्तामाझ प्रख्यात ‘भिडियो प्लेटफर्म’ बनेको छ। ‘बादल वर्षा बिजुली’लगायत पुराना गीतहरु टिकटकमा भाइरल भइरहेका छन्।

पुराना मात्रै होइन अहिले नयाँ गीत पनि टिकटकमार्फत हिट हुन धेरै समय लाग्दैन। टिकटकमा गीतका क्लिपहरु भेटिएपछि नै दर्शकहरु युट्युबमा गएर पूरा म्युजिक भिडियो हेर्ने गरेका छन्।

यी हुन् टिकटकबाट चर्चामा आएका पुराना नेपाली गीतहरु।

 

पापी लर्के जोवनले कहिले हसायो

‘पापी लर्के जोवनले कहिले हसायो’ पनि २ वर्षअघि नै टिकटकबाट नै चर्चामा आएको गीत हो। ‘घट्ट जस्तै फनफनी’ बोलको यो गीत रेखा थापाको डेब्यू फिल्म ‘हिरो’को हो।

फिल्ममा रेखाका साथै राजेश हमाल, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय रहेको छ। यो गीत २३ वर्षअघि भारतको मुम्बईमा रेकर्ड गरिएको थियो।

शम्भुजित बास्कोटाको शब्द र संगीत रहेको गीतमा गायिका दीपा झा र बास्कोटाको नै स्वर सुन्न सकिन्छ। टिकटकमा यस गीतमा नृत्यकला प्रदर्शन गर्नेको संख्या लाखौं छ।

 

जाम न हो ड्राइभर दाइ स्टेरिङ घुमाउँदै

‘जाम न हो ड्राइभर दाइ स्टेरिङ घुमाउँदै’ पनि टिकटकबाट पुनः चर्चामा आएको पुरानो गीत हो। ‘सन्तानको माया’ फिल्ममा समावेश यस गीतमा खेमराज गुरुङ र शर्मिला बर्देवाको स्वर रहेको छ। सुरेन्द्र राणाको रचना रहेको यस गीतमा टीका भण्डारीको संगीत रहेको छ।

राजेश हमाल र पूजा चन्दको अभिनय रहेको यो फिल्म निकै हिट बनेको थियो। फिल्म रिलिज भएको २० वर्षपछि चर्चामा आएको यस गीतमा हालसम्म टिकटकमा २ लाख ७७ हजार टिकटकहरु बनिसकेका छन्। टिकटकमा भाइरल भएसँगै गीतको भिडियो फेरि अपलोड गरिएको थियो।

 

मलाई माइतै सुख छ

‘मलाई माइतै सुख छ’ एकवर्षदेखि टिकटकमा चर्चित छ। युवतीको जन्मघरप्रतिको माया समेट्ने यो गीत १५ वर्षअघि रेकर्ड गरिएको थियो। यो गीत शंकर घिमिरे निर्देशित फिल्म ‘विष’ मा समावेश छ।

गीतको भिडियोमा राजेश हमाल, सञ्जिता लुइटेल, आशा पौडेल, नीता ढुंगानालगायतको अभिनय रहेको छ। सुरेश अधिकारी, दयाराम पाण्डे र एकनारायण भण्डारीको शब्द रहेको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको छ। संगीत भने सुरेश अधिकारीको भरेका छन्।

टिकटकमा यस गीतमा झण्डै साढे २ लाख भिडियो बनिसकेका छन्। यस गीतका भिडियो क्लिपहरु टिकटकमा छ्यापछ्यापी भेटिन थालेपछि युट्युवमा पुन: गीतको भिडियो अपलोड गरिएको छ।

 

देखाउँदिन दुनियाँलाई

टिकटकबाट नै पुर्नजीवन पाएको अर्को गीत हो: ‘माया गर मायालुलाई’। डेढ दशकअघि रिलिज भएको फिल्म ‘घायल’मा समावेश यो टिकटकबाट हिट भयो।

व्यावसायिक रुपले सफल भएको ‘घायल’मा जेनी कुँवर र बिक्रम बस्नेतका साथै राजेश हमाल, निखिल उप्रेती, अरुणिमा लम्साल, रेजिना उप्रेती लगायतको अभिनय छ।

महेश खड्काको संगीत रहेको यस गीतमा दीपक लिम्बु र अञ्जु पन्तको स्वर छ। यस गीतमा जेनी र बस्नेतको अभिनय थियो। ‘देखाउँदिन दुनियाँलाई’ भन्ने गीतको क्लिपमा २ लाख बढी टिकटक भिडियोहरु बनिसकेका छन्।

 

फूलबुट्टे सारी

नेपाली समाजमा ‘१२ वर्षपछि खोलो फर्किन्छ’ भन्ने उखान निकै चर्चित छ। जुन उखान राजनराज शिवाकोटीको ‘फूलबुट्टे सारी’सँग ठ्याक्कै मिल्छ। किनकी कोरोनाको पहिलो लहरबिच ‘फूलबुट्टे सारी’ १२ वर्षपछि टिकटककै दर्शकको नजरमा पर्‍यो।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको ओरिजनल गीतलाई मार्मिक लामाले गाएका थिए। १२ वर्षअघिको गुमनाम गीत एकाएका चर्चामा आएपछि शिवाकोटीले पुन: गीत रेकर्ड गराएर भिडियो समेत बनाए।

मार्मिकको स्वर रहेको उक्त गीत भाइरल भएपछि यो गीत विभिन्न भर्सनमा समेत सार्वजनिक भइसकेको छ। ‘फूलबुट्टै सारी’ मिलन नेवारको स्वरमा ‘फिमेल भर्सन’, मदनकृष्ण श्रेष्ठको स्वरमा ‘लिजेन्ड्री भर्सन’ र राजनकी छोरी अर्चिताको स्वरमा ‘चाइल्ड भर्सन’ रेकर्ड भइसकेको छ।

 

न दोष तिम्रो, न दोष मेरो

‘न दोष तिम्रो न दोष मेरो’ पनि टिकटकमा चर्चित गीत हो। जुनु रिजाल काफ्लेको स्वर रहेको यो गीत १० वर्षअघि रेकर्ड गरिएको थियो। धिरज त्रिवेणीको शब्द रहेको गजलमा शिशिर साधकको संगीत रहेको छ।

रेकर्ड भएको पाँचवर्षपछि यस गजलको म्युजिक भिडियो पनि बनेको थियो। जसमा सबिन श्रेष्ठ र दीया मास्केको अभिनय रहेको छ। यस गजलमा हालसम्म ३ लाख ७४ हजार बढी टिकटक बनिसकेका छन्।

‘एक सुन्दर शहर थियो’ बोलको गजलका क्लिपहरु टिकटकमा भाइरल भएपछि पुन: गजलको भिडियो युट्युबमा अपलोड गरिएको छ।

 

कस्तो होला भाटु राजाको दरवार

टिकटकबाट भाइरल बनेको पुरानो गीतको सूचीमा पर्छ : ‘कस्तो होला भाटु राजाको दरबार’। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको स्वरमा यो गीत २०५८ सालमा रेकर्ड भएको थियो।

गत पुषमा नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन रेशमको रिहाइ माग गरिरहेको बेला यो गीत भाइरल भएको हो।

साली र भिनाजुबिच भएको काठमाडौं शहर घुम्ने कुरालाई समेटेको गीत टिकटकका साथै युट्युबमा पनि चर्चित थियो। हालसम्म यस गीतमा टिकटक बनाउनेको संख्या १ लाख ६० हजार पुगिसकेको छ।

सोहीबेला रेशमकै अर्को थारु गीत ‘मैया लगल साली’ पनि चर्चामा थियो। यी दुवै गीतका शब्दहरु फरक भएपनि संगीत र लय भने एउटै छ। थारु गीतमा रेशम स्वमं ‘फिचर्ड’ छन्।

 

मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न

लक्ष्मीनाथ शर्मा निर्देशित फिल्म ‘साथी’मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’ पनि टिकटकमा हिट छ।

डा भोला रिजालको शब्द रहेको गीतमा राजेश पायल राई र दीपा झाको स्वर रहेको छ। साथै, शम्भुजित बास्कोटाको संगीत रहेको गीतको भिडियोमा राजेश हमाल र करिश्मा मानन्धर फिचर्ड छन्।

 

च्याङ्बा होइ च्याङ्बा

‘च्याङ्बा होइ च्याङ्बा’ बोलको रिमेक भर्सन पनि यतिखेर टिकटकमा भाइरल छ। डिजे राजुको रिमेक्स गीतमा क्रान्ति आले र मौसमी गुरुङको स्वर रहेको छ। यस गीतमा टिकटकमा लाखौँ भिडियोहरु अपलोड भइसकेका छन्।

‘च्याङ्बा होइ च्याङ्बा’ मूल गीत निकै पुरानो हो। गोपाल योञ्जनको शब्द र संगीत रहेको यस गीतमा योञ्जन र ज्ञानु राणाले स्वर दिएका थिए।

 

सरीता

पुरानो लोक गीत ‘सरीता’ पनि टिकटकबाट पुन: चर्चामा आएको छ। पुरानै भाका र संगीतमा नयाँ शब्दहरु राखेर रिमेक भर्सनहरु टिकटकमा आइरहेका छन्।

बैरागी माइलाले गाएको ‘सरीता तिम्ले देको ढाकाको टोपी’ गीतको क्लिपहरु अहिले टिकटकमा भाइरल छन्। सरीताको ओरिजन भर्सनमा रेशम थापा र गीता देवीले स्वर दिएका थिए। त्यस बेलाको निकै चर्चित गीतलाई ध्रुव कार्कीले कम्पोज गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell