PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चारजना पक्राउ



पहिलोपोस्ट

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चारजना पक्राउ

जानकी : बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीण कुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन्।

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजित कुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो। छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ।

घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ। बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्मको जरिबाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए। चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालयले गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell