PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मादीमा पहिरोका कारण दुई परिवार विस्थापित, चार घर जोखिममा



पहिलोपोस्ट

मादीमा पहिरोका कारण दुई परिवार विस्थापित, चार घर जोखिममा
प्रतीकात्मक फाइल फोटो।

कास्की : कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्।

मादीको वडा नम्बर ६ का पाँच र वडा नम्बर २ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी-६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिरोले जोखिम पुर्‍याएको हो।

अविरल वर्षापछि घरसँगैको सडक पहिरोले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ। यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए।

त्यसैगरी, स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको बताउँदै वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए।

वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिरोले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ। प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ।’

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले पहिरोले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए। उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए।

अध्यक्ष गुरुङले भने, ‘विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ। प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ।’

अविरल वर्षा तथा पहिरोका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ। विशेषगरी ग्रामीण सडकमा पहिरोले क्षति गराएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell