PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रितम सिंह दिल्ली धाएको अभिव्यक्तिबारे प्रचण्डले संसदमा जवाफ दिने, एमालेले असंसदीय व्यवहार देखाएको गठबन्धनको निष्कर्ष



पहिलोपोस्ट

प्रितम सिंह दिल्ली धाएको अभिव्यक्तिबारे प्रचण्डले संसदमा जवाफ दिने, एमालेले असंसदीय व्यवहार देखाएको गठबन्धनको निष्कर्ष

काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जवाफ दिनुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिहीवारको बैठकले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका प्रश्नबारे प्रष्टिकरण दिने निर्णय भएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

'सदनमा उठेका विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने निर्णय भएको छ,' उनले भने। प्रचण्डले व्यावसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाएको सोमवार बताएका थिए। एमालेले राजीनामा मागेपछि प्रचण्डले बुधवार नै काठमाडौंमा आयोजित कार्यक्रममा प्रष्टिकरण दिएका थिए। प्रितमले दिल्ली र काठमाडौंमा आफूलाई प्रधानमन्त्री बनाउन लविङ गरेको विषय अहिलेको नभइ २०७२ को भएको उनको भनाइ थियो।

एमालेले प्रितिमबारे प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर बुधवारको सदन अवरोध गरेको छ। संसद बैठक बस्नुअघि नै बसेको एमालेको संसदीय दलको बैठकले प्रचण्डले प्रधानमन्त्री पदमा बस्न राजनीतिक र कानुनी वैधता गुमाएको निचोड निकालेको थियो।

प्रचण्डले पदबाट राजीनामा नदिएसम्म सदन चल्न नसक्ने अडानमा एमाले छ। एमालेले राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको थियो।

सत्ता गठबन्धनको बैठकले सरकारले वैशाखमा २० मा ल्याएको अध्यादेश बुधवार निस्क्रिय भए पनि फेरि कानुनी व्यवस्थाका लागि पहल गर्ने पनि निर्णय गरेको छ। ६० दिनमा अध्यादेश निस्क्रिय हुने संवैधानिक व्यवस्थाका कारण बुधवार कार्यसूचीमा रहेको केही नेपाली मुलिकी ऐन संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको थियो। एमालेले अवरोध गरेपछि विधेयक पारित भएन। अर्कोतिर अध्यादेश पनि निस्क्रिय भएपछि मिटरव्याजी समस्या समाधानका लागि कानुनी रिक्तता उत्पन्न भएको छ।

गठबन्धनको बैठकले एमालेको अवरोधलाई असंसदीय भएको निचोड पनि निकालेको छ।

'यो संसदीय मर्यादा विपरीतको काम भयो। संसदमा आफ्ना कुरा राख्‍न पाइन्छ। त्यहाँ प्रश्न गर्न पाइन्छ। तर, एकै पटक संसदीय दलको बैठक बसेर प्रधानमन्त्रीको राजीनामा माग्‍ने कुरा संसदीय मर्यादामा पर्दैन,' गुरुङले भने।

सत्ता गठबन्धनले प्रचण्डको बचाउमा संसदमा एक ढिक्का भएर उभिने पनि निचोड निकालेको छ। नेपाली कांग्रेस लगायतका नेताले नै प्रचण्डको सिंहबारेको अभिव्यक्तिको आलोचना गरिरहेका छन्। तर, सत्ता गठबन्धनको बैठकले प्रचण्डले पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको हो। प्रचण्ड विरुद्ध एमाले मात्रै नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरु पनि उभिएका छन्।

बुधवारको बैठकमा सबै प्रतिपक्षी एक ठाउँमा उभिएपछि सत्तारुढ दल अप्ठेरोमा परेका थिए। लगतै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। दुई दिनका लागि संसद बैठक स्थगित गरेर सत्ता गठबन्धनले एमालेसँग संवाद गरिरहेको छ। एमालेले प्रचण्डको राजीनामालाई बटमलाइन बनाएपछि गठबन्धन नै अप्ठेरोमा परेको थियो। त्यसैले बिहीवार विहानै गठबन्धनको बैठक एमालेको मागबारे एउटै धारणा बनाउन बसेको थियो।

एमालेले प्रितम सिंहको सन्दर्भ उचालेपछि त्यसको काउन्टरमा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितले हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन गरेको निर्णयको प्रतिलिपि सोसल मिडियामा भाइरल भइरहेका छन्।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell