PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रितम सिंह प्रकरणमा ओलीलाई माओवादीको काउन्टर : मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटेर पटक-पटक संसद् विघटन गरेको आरोप



पहिलोपोस्ट

प्रितम सिंह प्रकरणमा ओलीलाई माओवादीको काउन्टर : मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटेर पटक-पटक संसद् विघटन गरेको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएको भन्दै माओवादीले आपत्ति जनाएको हो। पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन्।

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बिचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले बताए।सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ।

महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा बालुवाटारमा 'रअ' का प्रमुखलाई भेटेको, संसद विघटना गरेको लगायतका क्रियाकलाप जनताबाट नलुकेको बताएका छन्।

'मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक-पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्', विज्ञप्तिमा भनिएकाे छ। 

पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भर्त्सना गरेको छ। राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell