PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'बेल बहादुरसँग बिहे'को दोस्रो संस्करण



पहिलोपोस्ट

'बेल बहादुरसँग बिहे'को दोस्रो संस्करण

काठमाडौं : जितेन्द्र रसिकको बालकथा कृति 'बेल बहादुरसँग बिहे' को दोस्रो संस्करण बजारमा आएको छ। एजुकेसन पब्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएको कृति विद्यार्थी र बालबालिकामाझ लोकप्रिय छ। माग बढेकाले दोस्रो संस्करण बजारमा ल्याइएको प्रकाशक अञ्जन श्रेष्ठले बताए।

यो संस्करणमा आवरण कलेवर परिवर्तन गरिएको छ भने भित्री साजसज्जा पनि आकर्षक बनाइएको छ। संस्कृति र संस्कारहरु अमूर्त हुने, अमूर्तभित्र खोज्न सकियो भने त्यहाँ अमृतजस्तै मानव जीवनोपयोगी शिक्षाहरु रहने गरेको र  'बेल बहादुरको बिहे' बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति भएको लेखक रसिकले बताए। संसारका कुनै पनि मुलुकमा नियम कानुन नबन्दै संस्कृति र संस्कारका रुपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको कथन छ।

संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुराहरु लुकिरहेका हुन्छन्। नेवाः सभ्यता र संस्कृतिअनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हो। युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै परापूर्व कालमा नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह भएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई उदृत गर्दै लेखक रसिक बताए। बेलविबाह अर्थात 'इही'  को चलन अहिले पनि छ। सोही सन्दर्भ जोडिएको कथा 'बेल बहादुरसँग बिहे' कथामा नेवार समुदायका स्त्रीहरु कहिल्यै विधवा नहुने मान्यता र बेलविवाहलाई नारी सूरक्षाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

नेवाः समुदायमा बेलसँग बिहे गरेपछि पतिको दिवंगत पछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्नसक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ। विवाहपछि स्त्रीले श्रीमानसँग मन मिल्यो भने जीवन भरसँगै जीवन जीउन सक्दछन्। मन मिलेन भने वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको संस्कृतिविद्हरूको भनाइ छ। कृति रोमाञ्चक र ज्ञानवर्द्धक रहेको प्रकाशकले जनाएको छ। कथाकृतिका चित्रकार कृतिशेष एक्कारामसिं हुन्। कृतिको लेआउट डिजाइन शितल सुकुभटुको रहेको छ। कथा कृतिको मूल्य १९५/- रूपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell