PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सैनिक ब्यारेकको बंकरदेखि मुख्यमन्त्रीसम्म, एमालेको विरोधबिच कोशी सरकारको नेतृत्वमा पुग्ने उद्धव थापा को हुन्?



अनन्तराज न्यौपाने

सैनिक ब्यारेकको बंकरदेखि मुख्यमन्त्रीसम्म, एमालेको विरोधबिच कोशी सरकारको नेतृत्वमा पुग्ने उद्धव थापा को हुन्?

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री थापाले उक्त पदका लागि आजै प्रदेशप्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए।

कूल ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेसँग ४०, नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६, नेकपा समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सिट छ।

थापाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाको समर्थन आफूलाई प्राप्त भएको दाबी गरेका छन्। यसरी ४ पार्टीको गठबन्धनले थापालाई ४७ सिटसहित बहुमतमा पुर्‍याएको छ।

यसअघि गत जेठ १७ गते जसपाबाट स्वास्थ्यमन्त्री भएकी निर्मला तावा लिम्बूले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीको सरकार संकटमा परेको थियो।

यसपछि संविधानअनुसार प्रदेशसभामा असार १५ गते विश्वासको मतका लागि मतविभाजन गर्दा कार्की ४६ मत प्राप्त गरि अल्पमतमा परेका थिए।

कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशप्रमुख खापुङले असार १७ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को २ अनुसार सरकार बनाउने दाबी पेश गर्न आह्वान गरेका थिए। जसअनुसार कार्कीले पाचौँ दिन बिहिबार आफ्नो दाबी पेश गरेका हुन्।

सत्ताको साँचो राप्रपाका हातमा

सभामुखसहितको बहुमत पुर्‍याएर मुख्यमन्त्रीको नियुक्ति पाए पनि राप्रपाले साथ दिएन भने थापाको सत्तायात्रा सहज हुनेछैन। र, अहिलेसम्म राप्रपाले थापालाई समर्थन जनाएको छैन।

थापाले सभामुख बाबुराम गौतमसहितको समर्थन लिएर सरकार बनाए पनि प्रदेश सभामा विधेयक पास गर्न अप्ठ्यारो पर्ने देखिन्छ। किनभने सभामुखले मतदानमा भाग लिन पाउने छैनन् र उनले भाग नलिँदा सरकारका पक्षमा अल्पमत अर्थात् ४६ मत मात्र प्राप्त हुन्छ। यस्तो परिस्थितिमा ६ सिट भएको राप्रपाले थापालाई समर्थन दिने हो भने उनले सहज ढंगले बहुमत प्राप्त गर्ने अवस्था छ। तर राप्रपा थापालाई समर्थन गर्न इन्कार गरिरहेको छ।

मुख्यमन्त्री थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाको गृहजिल्ला झापा नै हो। लामो समयदेखि लिङदेन र सिटौलासिँग थापाको मनमुटाव छ। पहिले नेपाली कांग्रेसमै रहेका सिटौला कांग्रेस नेता कृष्ण सिटौला र मुख्यमन्त्री थापाको पेलानमा परेर राप्रपा छिर्न बाध्य भएका थिए।

सिटौलाले थापालाई आफ्नो दलले विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन्।

एमालेको आपत्ति

यसैबिच सभामुख गौतमलाई समेत गणना गरेर सांसदहरुको संख्या ४७ पुर्‍याइएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ति प्रकाशित गर्दै सभामुख गौतम अहिले कुनै दलको सदस्य नभएको जिकिर गरेका छन्।

कार्कीले भने, 'सरकार गठनका लागि सभामुखको नाम गणना गर्न संविधान, कानुन, संसदीय मूल्य, मान्यता, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सिद्धान्त र अभ्यासको विपरीत हुन्छ। यसले सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ।'

कार्कीले सभामुख पदमा आसीन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा हुने बताए।

एमालेले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको थियो।

को हुन् मुख्यमन्त्री थापा?

काठमाडौंको शंकरदेव क्याम्पसबाट २०३४ सालमा नेविसंघमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा पार्टीको प्रदेश सभापति चुनिएका हुन्।

उनी २०३७ सालको जनमत संग्रहमा बहुदलको प्रचार अभियानमा सक्रिय थिए। त्यस ताका उनी बीपी कोइरालाको सुरक्षा दस्तामा सामेल थिए।

प्रजातन्त्रको पुनःस्थापनापछि उनी २०४७ सालमा नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको एक कार्यकाल सचिव र अर्को कार्यकाल सभापति भए। त्यसपछि झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन्।

वि. सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले कू गर्दै सत्ता हातमा लिएपछि उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमान्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बंकरमा राखेको थियो। उनले वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell