PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोशीमा कांग्रेसले नेतृत्व सम्हाल्दा शेखर कोइराला भने रुष्ट



पहिलोपोस्ट

कोशीमा कांग्रेसले नेतृत्व सम्हाल्दा शेखर कोइराला भने रुष्ट

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। कोशी प्रदेश कांग्रेस संसदीय दलको नेता रहेका थापा मुख्यमन्त्री बनेसँगै डा शेखर कोइराला भने रुष्ट बनेका छन्।

सभामुख बाबुराम गौतमको भूमिकामाथि प्रश्न उठाउँदै शेखरले आफ्नो असन्तुष्टि पोखेका हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति प्रकट गरेका हुन्।

'प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था छ,' शेखरले भनेका छन्, 'प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन।'

सभामुखले आफ्नो मत जाहेर गर्न सकिने कुनै अवस्था नभएकोसमेत शेखरको तर्क छ।

'तर सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेश गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जान्छ,' उनले थप भनेका छन्, 'सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु हो। यदि संसदमा पेश भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।'

थापा केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन्। उनी देउवा खेमाका भएकैले शेखरले असन्तुष्टि पोखेको कांग्रेसकै नेता कार्यकर्ताको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell