काठमाडौं : नेपाली कांग्रेस संघीय संसदमा सबैभन्दा ठूलो दल त हो नै, शुक्रवार कांग्रेसले अर्को रेकर्ड पनि बनाएको छ - प्रदेशमा सबैभन्दा धेरै सरकारको नेतृत्व गर्ने पार्टी। ४ प्रदेशमा कांग्रेसको सरकार बनेको छ। एमालेको नाममा रहेको रेकर्डलाई कांग्रेसले सत्ता समीकरणमा अदलबदल गरेर खोसेको हो। कांग्रेसले प्रदेशमा सत्ता कब्जा गर्दा एमाले भने ठीक विपरित अवस्थामा छ, संघ र प्रदेशमा प्रतिपक्षी। राष्ट्रपतिको निर्वाचनअघि कांग्रेस एमालेकै अवस्थामा थियो। अर्थात् सबै ठाउँमा प्रतिपक्षी।
संघमा एमाले कांग्रेसको शक्ति खासै फरक भने छैन। कांग्रेस ८८ सिटसहित पहिलो दल हो भने एमाले ७९ सहित दोस्रो दल हो प्रतिनिधि सभामा। कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सुत्राधार नै हो अहिले। कांग्रेसले दायाँ बायाँ गर्नसाथ प्रचण्ड नेतृत्वको सरकार जतिबेला पनि धरापमा पर्ने खतरा प्रचण्डमाथि जहिले छ। त्यसैले कांग्रेसका नेतालाई मक्ख पार्न प्रचण्डले कुनै कसर बाँकी राखेका छैनन्। बिहीवारमात्रै प्रचण्डले सत्ता गठबन्धनलाई आफ्नो पक्षमा उभिन बैठक नै बोलाएका थिए प्रधानमन्त्री निवास बालुवाटारमा। प्रतिपक्षी दल एमालेले मागेको राजीनामाको विपक्षमा सत्ता गठबन्धन एकमत भएर उभिने बैठकले निचोड निकालेको छ।
संयोग कस्तो भने कांग्रेसले पुस १० मा बनेको एमाले - माओवादी गठबन्धनबाट एमालेललाई अलग मात्रै गरेन जुन प्रदेशमा एमालेको सरकार थियो त्यही आफ्नो सरकार बनाएको छ। एमालेको सरकार एकपछि अर्को ठाउँमा अल्पमतमा परेर ढलेको थियो। एमाले - माओवादी गठबन्धनले एमाले प्रदेशमा मात्रै होइन केन्द्रमा पनि सत्ताको मियो बन्न पुगेको थियो। तर फागुन १२ मै एमाले कमजोर साबित भयो कांग्रेस - माओवादी गठबन्धन बनेपछि। जसको सोझो असर सत्ता राजनीतिमा परेको छ।
चार प्रदेशमा को कहिले?
बिहीवार कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएसँगै प्रदेश सरकारमा कांग्रेसले कब्जा जमाएको हो। कोशीमा नेकपा एमालेका हिक्मत कार्कीको सरकार असार १५ मा ढलेको थियो। उनको सरकार एक मत अपुगेका कारण विश्वासको मतको प्रस्तावमा असफल भयो। ९३ सदस्यीय कोशी प्रदेश सभामा उनले ४६ मात्रै पाए। उनलाई विश्वासको मतका लागि ४७ मत आवश्यक थियो। कोशीमा एमाले ४० सिट सहित पहिलो पार्टी हुदा हुदैं पनि प्रतिपक्षी बन्ने बाध्यात्मक अवस्थामा पुगेको हो।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोग पाएपछि प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बनेको थियो। अहिले यी ४ वटै प्रदेशमा कांग्रेसले सरकार बनाएको छ।
पुस २७ मा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए सुदूरपश्चिम प्रदेशमा। तर, एक महिना नपुग्दै माघ २६ मा विश्वासको मत लिन असफल भएपछि उनको सरकार टिकेन। फागुन १२ मा केन्द्रमा बनेको कांग्रेस-माओवादी गठबन्धन अनुसार सुदूरपश्चिममा माघ २६ मा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए।
अघिल्लो कार्यकाल अरू सबै प्रदेशका सरकारमा फेरबदल हुँदा पनि सुदूरपश्चिममा भने ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्टले प्रदेश सरकार चलाएका थिए। तर यसपटक भने महिना दिनमै एमाले सरकार ढलेर कांग्रेसको सरकार बनेको थियो।
सुदूरपश्चिममा जस्तै लुम्बिनी र गण्डकीमा पनि संघको सत्ता समीकरणको प्रत्यक्ष असर पर्यो। पुस २७ मा एमालेका लीला गिरी मुख्यमन्त्री भए पनि उनको सरकार धेरै दिन टिकेन। वैशाख ११ मा गिरीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो। लुम्बिनीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
एमाले नेता खगराज अधिकारी पुस २५ मा गण्डकीको मुख्यमन्त्री बनेका थिए। तर, उनको सरकार पनि लामो समय टिकेन। वैशाख ९ मै ढल्यो। प्रदेश सभाबाट अधिकारीले विश्वासको मत पाउन सकेका थिएनन्। अधिकारीपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए वैशाख १४ मा।
एमाले प्रदेशदेखि संघसम्मको सरकारको प्रतिपक्षीको भूमिकामा भने खरो उत्रिरहेको छ। संघीय संसदमा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर सत्ता गठबन्धनलाई अप्ठ्यारो पारेको एमालेले कोशीमा पनि कांग्रेसका थापालाई सजिलोगरी सरकार चलाउन दिने स्थिति देखिन्न। किनभने संविधानको धारा १६८ को २ अनुसार २ दल मिलेर सरकार बनाउन सक्ने व्यवस्थाअनुसार थापा मुख्यमन्त्री भए पनि उनलाई बहुमतका लागि कोशी प्रदेशका सभामुख बाबुराम गौतमको सहारा लिनुपरेको छ। यहि मुद्दालाई एमालेले कोशी प्रदेश सभामा बलियोगरी एमालेले उठाइसकेको छ। कोशीमा बनेको सत्ता समीकरण कतिसम्म कमजोर छ भने माओवादीका तर्फबाट सभामुख भएका बाबुराम गौतमको सहारा लिँदा पनि बहुमतका लागि आश्यक पर्ने ठिक्क सांसद संख्या ४७ मात्रै छ मुख्यमन्त्री थापाको पक्षमा।