PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गियो



पहिलोपोस्ट

अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गियो

काठमाडौं : ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गिएको छ।

बिहिवार ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबिच सहमति भएपछि विवाद सल्टिएको र सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ।

अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो। ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले आवश्यक प्रक्रिया पुर्‍याएर लामिछानेलाई छाडिसकिएको बताए।

उक्त घटनाको विरोधमा वकिल तथा कर्मचारी आन्दोलित भएका थिए। उनीहरूबिच बिहिवार भएको सहमतिमा अदालतमा सेवा लिने-दिने क्रममा हुन गएको घटनाका बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिमार्फत विषयान्तर भएको महसुस भएकाले सो घटनाका विषयलाई लिएर द्वेषभाव नराखी विवादलाई अन्त्य गरि आ-आफ्नो सेवामा खटिने उल्लेख छ।

सहमतिपत्रमा ललितपुर जिल्ला अदालतको सिसीटिभी अविलम्ब मर्मतका लागि अनुरोध गर्ने, नेपाल बार एशोसिएसन र निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रम आजैदेखि स्थगन गरी सेवा सञ्चालन गर्ने पनि सहमति बनेको छ।

यस्तै, सहमतिपत्रमा ललितपुर जिल्ला अदालत र बार एशोसिएसनबिचको सम्बन्धलाई सुमधुर कायम राखी निरन्तरता दिँदै यो बिचमा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षममायाचना पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell