PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा स्थगित



पहिलोपोस्ट

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए।

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए।

उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वोच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी गरेका थिए।

घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुन नसक्ने बताए। अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्‍याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए।

तर, एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरेका थिए। राष्ट्रियसभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको छ। साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ। राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell